चौथो हप्तामा मुनाफामा आमा

काठमाडौं । फिल्म ‘आमा’ शुक्रबारबाट चौथो हप्तामा प्रवेश गरेको छ । फागुणको ९ गतेबाट रिलिज भएको यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरेको हो । फिल्म निर्माण पक्षले विज्ञप्ती सार्वजनिक गर्दै चौथो हप्तासम्म आइपुग्दा फिल्मले नेपालबाट लगानी सुरक्षित गरी मुनाफासमेत आर्जन गरेको जनाएको छ ।

निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले जारी गरेको विज्ञप्तीमा फिल्मलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

कोरोना भाइरसले निम्त्याएको अहिलेको विषम परिस्थितिमा पनि हलसम्म पुगेर फिल्म हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद दिएको छ । मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको यो फिल्म कथावस्तु, प्रस्तुतिलाई दर्शकले रुचाएका छन् ।