कोरोनाको कथामा कोरोना प्यार है

मुम्बई(एजेन्सी) । विश्व यतिबेला चीनबाट फैलिएको कोरोना भाइरसको चपेटामा छ । भारतमा कैयौं मानिसहरु यो भाइरसको चपेटामा छन् । केही स्थानमा मेडिकल इमरजेन्सी पनि घोषणा गरिएको छ । भारत सरकार यो समस्याबाट कसरी समाधान पाउने भन्ने चिन्ता गरिरहेका बेला बलिउडका केही निर्माताले यसको बारेमा फिल्म निर्माण गर्ने भएका छन् ।

समाचार अनुसार ‘बाजीराव मस्तानी’, ‘तनु वेड्स मनु रिटर्न्स’, ‘बदलापुर’, ‘बजरंगी भाईजान’ जस्ता फिल्म निर्माण गरेको कम्पनी इरोज इन्टरनेसनलले ‘कोरोना प्यार है’ नामक फिल्म दर्ता गराएको छ । यो फिल्म कोभिड–२०१९ मा आधारित रहेर रजिष्टर भएको पहिलो फिल्म हुनेछ ।

दर्ता भएको फिल्म सन् २००० मा रिलिज भएको रितिक रोशन र अमिषा पटेल अभिनित फिल्म ‘कहोना प्यार है’को नामसँग मिल्दोजुल्दो छ । रितिक र अमिषा अभिनित फिल्म बक्सअफिसमा ब्लकब्लष्टर हिट साबित भएको थियो ।

फिल्मको निर्माण क्रिशिला लुल्लाले गर्नेछिन् । उनले हाल फिल्मको कथाको काम चलिरहेको बताए । ‘अहिलेको भाइरस हटेर सामान्य जनजीवन चल्ने अवस्था आएपछि फिल्म निर्माण हुनेछ । फिल्मका लागि कलाकार तथा प्राविधिक फाइनल भइसकेका छैनन् ।’ उनले भने ।