कविताले ल्याइन विस फर ए डे विथ डल्लु

काठमाडौं । फिल्म ‘बबी’ अभिनेत्री कविता गुरुङको टेलिभिजन शो ‘विस फर ए डे विथ डल्लु’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमका माझ ट्रेलर सार्वजनिक गरिएको हो । डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण गरिएको शोको ट्रेलरमा एकजना व्यक्ति विशेष इच्छा, आकांक्षा, सपना, अनि खुसी एक दिनको देखाइएको छ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायांकन गरिएको शोमा डम्बर राईको छायांकन र ध्रुवराज पराजुली प्रज्वलितको सम्पादन छ ।

शोमा कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहने छ । ‘नर्वेमा मैले कमाएको पैसा र उमेशले कमाएको पैसाले महंगो जुत्ता र कपडा लगाउने या रमाइलो ठाउँमा घुम्ने घरमा पनि महंगो महंगो सामान खरिद गर्दै गर्दा मलाई यस्तो फिल भयो कि मैले लगाउने एक जोर जुत्ता २०–३० हजार पर्छ ’, कविताले भनिन्, ‘तर त्यो रकमले चाहिँ हाम्रो नेपालमा कोही सामान्य परिवारलाई कति महिनाको खर्च चल्छ कति धेरै कुरा गर्न मिल्छ । मलाई त्यो फिल लाग्यो त्यसले गर्दा हामीले कमाएको धेरै रकम राम्रो काम लगाउने सोचका साथ यो कार्यक्रम गर्ने सोच आयो ।’

पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको र पाक्षिक रुपमा राष्ट्रिय टेलिभिजन र डल्लु इन्टरटेन्टमेन्ट युट्यूब च्यानलबाट सार्वजनिक गरिने उक्त कार्यक्रममा जानकारी गराइयो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, निर्देशक समाजका महासचिव जनकदिप पराजुलीलगायतको उपस्थिति रहेको थियो ।