ताराको सांगीतिक सुनौलो तारा

काठमाडौं । गीतकार तारा अधिकारी एल्बम ‘सुनौलो तारा’का साथ श्रोतामाझ आएकी छन् । यो एल्बमको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पूर्व मन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, गीतकार तथा फिल्मकर्मी चेतन कार्की, संगीतकार तथा गायक जगतमर्दन थापा, गीतकार, गायक तथा संगीतकार गणेश रसिक, प्रथम नायिका भुवन चन्द, नारायण गोपाल संगीत कोषका अध्यक्ष उषा शेरचन, तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसी, संगीतकार तथा गीतकार दिपक जंगम, संगीतकार राजु सिंह लगायतले संयुक्त रुपमा विमोचन गरे ।

एल्बममा नौ वटा गीतहरु छन् । दिपक जंगम, बसन्त सापकोटा, कल्याण सिंह, दिपक शर्मा, सुवाष भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीतमा रहेका गीतमा स्वरुपराज आचार्य, अन्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ, निकेश राईको आवाज छ । ताराको पहिलो एल्बम ‘सपना’ हो । सुनौलो तारा एल्बममा पहिलो एल्बममा रहेका दुई वटा गीतहरु पनि राखिएका छन् ।

एल्बम विमोचन कार्यक्रममा ‘फुलेको केश’ बोलको गीतको भिडियो पनि देखाइएको थियो । भिडियोमा रमेश थापाको निर्देशन छ भने दिलिप रायमाझी, सिरु विष्ट, स्वयम् गीतकार तारा अधिकारी र बालकलाकार सुलोचना आचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । यो भिडियो गीतकार अधिकारीकै युट्युबच्यानल सुनौलो ताराबाट अपलोड गरिएको छ ।