यस्तो छ आरआरआर मोशन पोस्टर

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको मेगा बजेट फिल्म ‘आरआरआर’को मोशन पोस्टर बुधबार सार्वजनिक भएको छ । यो पोस्टरलाई राजामौलीका अलावा अभिनेत्री आलिया भट्ट, अभिनेता रामचरण तेजा र जुनियर एनटीआरलगायतले सामाजिक सन्जालबाट सार्वजनिक गरेका हुन् । उनीहरुले मोशन पोस्टर शेयर गर्दै ‘जब आगो र पानी जस्ता दुई विरोधी शक्ति एकसाथ आउँछन्, तब तपाईसँग तीब्र उर्जा हुन्छ’ भनी लेखेका छन् । यो फिल्म आगामी जुलाई ३० मा रिलिजको योजना बनाइए पनि कोरोना भाइरसका कारण सन् २०२१ को जनवरी ८ मा रिलिज हुँदैछ ।

एक मिनेट १५ सेकेण्डको यो मोशन पोस्टरमा फिल्मका दुई अभिनेता एकअर्कातर्फ दौडिएको देखाइएको छ । जसमा एकजनालाई पानीको र अर्कोलाई आगोको प्रतिकका रुपमा देखाइएको छ । उनीहरु कुदिरहँदा पछाडिबाट निकै तिब्र रुपमा आगो र पानी निस्किएको देखाइएको छ । तर पनि दुई अभिनेताको अनुहार प्रस्ट रुपमा देखिएको छैन ।

मोसन पोस्टरमा पोस्टरको दृश्य अघि बढिरहँदा तीन ‘आर’को अर्थ पनि देखाइएको छ । जसमा पहिलो ‘आर’को अर्थ ‘उदय’, दोस्रो ‘आर’को अर्थ ‘विद्रोह’ र तेस्रो ‘आर’को अर्थ ‘गर्जन’ रहेको छ । पोस्टरको अन्त्यमा ‘भारत १९२०’ पनि लेखिएको छ । यो फिल्मले दुई भारतीय स्वतन्त्रता सेनानी अल्लूरी सीताराम राजू र कोमाराम भीमको कथा देखाउनेछ ।

करिब ४ सय करोडको लगानीमा निर्माण भएको यो फिल्मलाई भारतको सबैभन्दा महंगो फिल्म मानिएको छ । यो फिल्म हिन्दीका अलावा तमिल, तेलुगू, मलयालमलगायत १० भारतीय भाषामा रिलिज हुनेछ । फिल्ममा जूनियर एनटीआर, रामचरण र आलिया भट्टका अलावा अजय देवगन पनि प्रमुख भूमिकामा छन् । यही फिल्ममार्फत ब्रिटिश अभिनेत्री डेजी एडगर जोन्स बलिउडमा डेब्यू गर्दैछिन् । यसभन्दा अघि राजमौलीले ‘बाहुबली’, ‘बाहुबली २’ जस्ता २ सयदेखि ३ सय करोड बजेटका फिल्म बनाइसकेका छन् ।