मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’बाट चर्चामा आएका तेलुगू स्टार प्रभासले कोरोना महामारीविरुद्ध लड्का लागि ४ करोड रुपैंयाँ दान गरेका छन् । प्रभासले बिहीबार तीन करोड रुपैंयाँ प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा र ५०–५० लाख रुपैंयाँ आन्ध्र प्रदेश एवं तेलंगाना मुख्यमन्त्री राहत कोषमा दान गरे ।
बलिउडका दिग्गज कलाकारले पनि यसभन्दा अघि नै आफ्नो गच्छे अनुसारको रकम कोषमा जम्मा गरिसकेका छन् । प्रभास हालै मात्र जर्जियाबाट फर्किएका छन् । जहाँ उनको आगामी फिल्म ‘प्रभास २०’को छायांकन भएको थियो । जर्जियाबाट फर्किनासाथ उनी १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा थिए । प्रभासको पछिल्लो पटक रिलिज फिल्म ‘साहो’ थियो । जुन फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।
प्रभासभन्दा अघि तेलुगू अभिनेता पवन कल्याणले २ करोड, उनका भतिज रामचरणले ७० लाख, उनका तेलुगू सपुरस्टार पिता चिरन्जीवीले १ करोड रुपैंयाँ र युवा सुपरस्टार महेशबाबुले १ करोड रुपैंयाँ कोषमा दान गरिसकेका छन् ।
त्यस्तै पन्जाबी गायक तथा उत्तरपश्चिम दिल्लीबाट भाजपाका सांसद र गायक हंसराज हंसले ५० लाख रुपैंयाँ तथा कमेडियन कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैंयाँ दिने घोषणा गरिसकेका छन् ।