आलियासँग पुनः जोडी बाँध्दै शाहरुख

मुम्बई(एजेन्सी) । फिल्म ‘जीरो’ रिलिज पछि बलिउड अभिनेता शाहरुख खानका फ्यान शाहरुख पुन कहिले पर्दामा फर्किन्छन् भन्ने प्रतिक्षा गरिरहेका छन् । पछिल्लो समयमा एकपछि अर्को फिल्म फ्लप हुँदै गएपछि शाहरुखले केही समय ब्रेक लिने निर्णय लिइसकेका छन् । सन् २०१९ मा शाहरुखको एउटा पनि फिल्म रिलिज भएन । ‘जीरो’ अघि शाहरुख ‘डियर जिन्दगी’मा देखिएका थिए । यो फिल्ममा उनले अभिनेत्री आलिया भट्टसँग सहकार्य गरेका थिए ।

आलियासँगको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्यो र समिक्षकले पनि फिल्मको राम्रो प्रशंसा गरेका थिए । शाहरुखको आगामी प्रोजेक्टका विषयमा सञ्चारमाध्यममा अनेक किसिमका समाचार आइरहेका छन् । उनले आफ्ना फ्यानलाई आगामी फिल्मको बारेमा आफैंले घोषणा गर्ने भएकाले अन्य कुराको विश्वास नगर्न आग्रह गरिसकेका छन् ।

समाचार अनुसार शाहरुख चाँडै नै एकपटक पुनः आलियासँग फिल्ममा काम गर्दैछन् । शाहरुख र आलिया चाँडै नै सिद्धार्थ आनन्दको फिल्ममा सँगै देखिँदैछन् । फिल्मको नाम अहिलेसम्म टुंगो लागिसकेको छैन । निर्देशक सिद्धार्थको पछिल्लो फिल्म ‘वार’ थियो ।

शाहरुख हाल पर्दा पछाडि रहेर विभिन्न काम गरिरहेका छन् । उनले बोर्ड अफ ब्लडजस्तो वेभ सिरिज बनाएका छन् । उनले फिल्म ‘बदला’ पनि निर्माण गरेका थिए । यो फिल्मले बक्सअफिसमा सफलता पनि पायो ।