फिल्म मजदुरलाई सलमानको सहयोग

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको कारण भारतमा लकडाउन भएपछि मनोरन्जन उद्योगको काम पूर्ण रुपमा बन्द छ । फिल्म उद्योगसँग जोडिएका साना मजदुरको घरको चुलो बल्न नै समस्या परिरहेको छ । उनीहरु आर्थिक रुपमा पीडित बनेका छन् । कोरोना भाइरसको यो महामारीमा बलिउड अभिनेता सलमान खान पुनः एकपटक मजदुरको सहयोगका लागि अगाडि आएका छन् । सलमानले फिल्म फेडरेसनसँग जोडिएका सानातिना कामदार र मजदुरलाई खाना खुवाउने वातावरण बनाउन र आर्थिक रुपले सहयोग गर्न आफू तयार रहेको जनाउ दिएका छन् ।

समाचार अनुसार सलमानले एक्लै मजदुरका लागि खर्च उठाउने निर्णय लिएका छन् । उनले फेडरेसनका कर्मचारीलाई आफूले गरेको सहयोग मिडियालाई जानकारी नदिनका लागि आग्रह गरेका छन् । उनले आफू पब्लिसिटीका लागि च्यारिटी नगर्ने भएकाले यो कुराहरु गुपचुप राख्न अनुरोध गरेका छन् ।

केही दिन अघि मात्र दिहाडी मजदुर र जूनियर आर्टिस्ट कोओर्डिनेटर राजेन्द्र लेखराज उफ पप्पूले मजदुरको अवस्था बिग्रेमा आफूले सलमानसँग कुरा गर्ने बताएका थिए । ‘उनी मजदुरको समस्या बुझ्छन् र दयालु भावले सहयोग गर्छन् । हामी मजदुरको बारेमा उनी जहिल्यै चिन्तित छन्,’ उनले भनेका थिए ।

सामाजिक काममा सलमानको यो पहिलो कदम होइन् । उनको फाइन्डेसन बिइङ ह्युमनमार्फत जहिल्यै बालबालिकालाई विभिन्न किसिमका रोग लाग्न नदिन आर्थिक सहयोग गर्दै आएका छन् ।