कनिकाको चौथो कोरोना टेस्ट पनि पोजेटिभ

मुम्बई(एजेन्सी) । बलिउड गायिका कनिका कपुरको समस्या दिनानुदिन बढ्दै गएको छ । यी गायिकाको चौथो कोरोना भाइरस टेस्ट पनि पोजेटिभ नै देखिएको छ । चौथो रिपोर्ट पनि पोजेटिभ आएपछि गायिकाको परिवारले चिन्ता व्यक्त गरेका छन् । कनिका हाल सन्जय गान्धी पोस्ट ग्रेजुएट इनिस्टिच्यूट अफ मेडिकल साइन्समा भर्ना भएकी छन् ।

परिवारले कनिकाको सही किसिमले उपचार नभइरहेको आरोप लगाएका छन् । उनीहरुले कनिकाको एयरलिफ्टबाट उपचार गर्ने प्रयास पनि लकडाउनका कारण सम्भव नभएको बताएका छन् । कनिकाको उपचारमा संलग्न चिकित्सकका अनुसार कनिकाको अवस्था स्थिर छ । यसअघि पनि उनको तीन पटकको टेस्ट पोजेटिभ नै आएको थियो ।

कनिका गत मार्च ९ मा लण्डनबाट भारत फर्किएकी थिइन् । भारत फर्किएपछि उनी कैयौं पार्टी र समारोहमा सहभागी भएकी थिइन् । उनको सहभागितालाई लिएर कैयौंले आलोचना पनि गरेका थिए । कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई २० मार्चमा अस्पतालमा भर्ना गरिएको थियो । उनले सहभागिता जनाएको पार्टीका अन्य व्यक्तिको रिपोर्ट टेस्ट नेगेटिभ आइसकेको छ ।

पीजीआइमा भर्ना गरिएकी कनिकाको हेरचाहका लागि हरेक समय एक नर्स तैनाथ गरिएको छ । जहाँ चार–चार घण्टामा नर्सको सिफ्ट परिवर्तन हुन्छ । जस अनुसार एकदिनमा उनलाई ६ नर्सले सहयोग गर्छन् । ती नर्सले नै उनलाई औषधि खुवाउँछन् ।