ह्याप्पी बर्थडे अजयः बिलासी गाडीको सौखिन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अजय देवगन आज ५१ औं जन्मदिन मनाउँदैछन् । फिल्म ‘फूल और काँटे’ देखि ‘तानाजी’सम्मको फिल्मी यात्रामा अजय बलिउडका चल्तीका स्टार हुन् । ९० को दशकमा आफ्नो करियर शुरु गरेका अजय आज हरेक फिल्मका लागि निकै मोटो रकम लिन्छन् । उनी कारको शौखिन हुन् । त्यसकारण पनि अजयसँग बलिउडका उत्कृष्ट कारको भण्डार नै छ ।

अजयले सन् २००६ मा मसेराती क्वाटोपोर्टे किनेका थिए । उनी यो कार किन्ने पहिलो भारतीय हुन् । यो कारको मूल्य करिब २ दशमलब ८ करोड थियो । अजयसँग यसका अलावा रेन्जरोवर वोग गाडी पनि छ । यो कार आफ्नो सोलिड अफरोडका लागि उत्कृष्ट मानिन्छ । यसको मूल्य २ दशमलब ७ करोड छ । उनीसँग मर्सिडिज बेन्ज एस क्लास कार पनि छ । यो लग्जरी कारको मूल्य १ दशमलब ४ करोड पर्दछ । यो कार सेलिब्रेटीमाझ निकै लोकप्रिय छ ।

अजय टू–सीटर कार बीएमडब्ल्यू जेड ४ का मालिक पनि हुन् । यो कार युवामाझ निकै लोकप्रिय छ । यो कारको मूल्य ९८ लाख रुपैंयाँ हो । उनीसँग रोल्स रोयस कलीनन पनि छ । यो सुपर लग्जरी कारको मूल्य ६ दशमलब ८५ करोड पर्दछ । फिल्म ‘सूर्यवंशी’को ट्रेलरको रिलिजका समयमा उनी यही कारमा पुगेका थिए । उनले आफ्नो फिल्म ‘तानाजी’को प्रिमियरको समयमा पनि यही गाडी प्रयोग गरेका थिए ।

अजय बलिउडमा प्राइभेज जेट हुने कलाकारमध्येका एक हुन् । उनले सन् २०१० मा यो जेट खरिद गरेका थिए । यो जेटको प्रयोग उनी सुटिङ, प्रमोसन र निजी भ्रमणमा प्रयोग गर्छन् । हकर ८०० नामको यो जेटको मूल्य ८४ करोड पर्दछ । केहीले यो जेट अजयले बेचिसकेको पनि बताएका छन् ।