मुम्बई(एजेन्सी) । भोजपुरी फिल्मले जहिल्यै पनि दर्शकको एक खास वर्गलाई आफ्नो तर्फ आकर्षित गरेको छ । यो फिल्मको फ्यान फलोइङ पनि बाक्लो छ । भोजपुरी फिल्मले आफ्नो शुरुवाती समयदेखि नै आफ्नो जस्तो उत्कृष्ट कलाकार अन्य कतै छैन भन्ने कुराको प्रमाणित गरिसकेको छ । भोजपुरी फिल्मका नाम पनि आफैमा अनौठा र हाँसो लाग्दा छन् ।
भोजपुरीमा निर्माणको एउटा फिल्म छ–मेहरारु चाही मिल्की व्हाइट । यो फिल्मको नाम झट्ट सुन्दा हाँस उठ्न सक्छ । यसको अर्थ पनि कमको छैन । यो फिल्मको नामको अर्थ हो–पत्नी चाहिए गोरी–गोरी । फिल्म ‘संइयां के साथ मड़इयां में’ को नामलाई भोजपुरी फिल्म क्षेत्रमा क्लासिक नामका रुपमा लिइन्छ । यो फिल्मको हिन्दी अर्थ ‘पति के साथ कुटिया में…. हो गए न हैरान’ हो ।
त्यस्तै ‘तोहरे कारण गइल भइसयां पानी में’ नाम पनि हाँस्यास्पद छ । यसको अर्थ ‘तुम्हारी वजह से भैंस पानी में चली गई’ हो । भोजपुरी फिल्मका सान मनोज तिवारी अभिनित फिल्म ‘गोबर सिंह’ पनि अनौठो नाम भएको फिल्म हो । यो फिल्मको अर्थ के हो भन्ने थाहा पाउन एकपटक फिल्म नै हेर्नुपर्ने हुन्छ ।
अर्को फिल्म छ– हीरो गमछा वाला । यो फिल्मको अर्थ निकै सजिलो छ । अर्थात् फिल्मका हिरो गमछा(टावल) वाला हुन् भन्ने अर्थ लाग्छ । फिल्म ‘जीन्स वाली भौजी’ पनि अनौठो नामको छ । भौजी अर्थात भाभी(भाउजू), यस अर्थमा फिल्मको नाम नै महिला सशक्तिकरणसँग जोडिएको छ । अर्को रमाइलो नाम छ– ‘मेहरारु बिना रतिया कइसे कटी’ । अर्थात् यसको अर्थ हुन्छ ‘पत्नी बिना रातें कैसे कटें’ ।
अर्को फिल्म ‘लैला माल बा, छैला धमाल बा’ छ । यसको नाम पढेर जोकोही पनि मज्जाले हास्न सक्छन् । यसको अर्थ तपाईं सहजै थाहा पाउन सक्नुहुन्छ । त्यस्तै ‘ए राजा लाइन पर आजा’ ले नै सचेत बनाएको अर्थ राख्छ । यो फिल्मको नाम पढ्दा जोकोही दर्शक पनि लाइन बसेर नै टिकट काट्लान् जस्तो देखिन्छ । अर्को फिल्म ‘एक बिहारी सब पर भारी’को नामले पनि एउटा बिहारी सबैसँग भारी पर्न सक्ने अर्थ राखेको छ ।