डिसेम्बरमा आलिया र रणवीरको लगनगाँठो

मुम्बई(एजेन्सी) । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टलाई बलिउडको चर्चित जोडी मानिन्छ । लामो समयदेखि डेट गरिरहेको यो जोडीले कहिले विवाह गर्छन् भन्ने प्रतिक्षा यतिबेला फ्यान माझ छ । उनीहरुले विवाहको बारेमा केही नबोलीरहँदा कपूर परिवार निकट एक स्रोतले भने आगामी डिसेम्बरमा विवाह गर्ने तयारी भइरहेको बताएको छ ।

पारिवारिक स्रोतका अनुसार पहिला रणवीर र आलियाको डेस्टिनेशन वेडिङको योजना बनाइएको थियो । तर परिवारले मुम्बईमा डिसेम्बरमा १० दिनको विवाह योजना बनाउने निर्णय गरेपछि उनीहरुले डेस्निनेशन वेडिङको योजनालाई रोकेका छन् । रणवीरका पिता ऋषि कपुर केही समयदेखि बिरामी भएका कारण विवाहको समय टलिरहेको बेला अब ऋषि स्वस्थ भएकाले डिसेम्बरमा विवाह गर्ने बताएका छन् । उनीहरुको विवाहको कार्यक्रम २१ डिसेम्बरदेखि चार दिनको हुनेछ भने तर लगनगाँठो कस्ने मिति भने तय गरिएको छैन ।

केही समयअघि मात्र आलिया र रणवीरको अप्रिलमा विवाह हुने बताइए पनि वर्तमान समयमा विश्व कोरोना भाइरसको संक्रमणमा रहेकाले यो अवस्थामा विवाह नगर्ने भन्दै मिति सारेको बताइएको छ । भारतमा भएको लकडाउनका कारण यतिबेला रणवीर र आलिया सँगै बसिरहेका छन् । आलिया र रणवीर पहिलोपटक फिल्म ‘ब्रह्मास्त्र’मा सँगै देखिँदैछन् ।