शाहरुख दम्पतीको कार्यालयमा क्वारेन्टाइन सुविधा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरले बृहन्मुम्बई नगर निगम (बीएमसी)लाई आफ्नो चार कोठे निजी कार्यालय क्वारेन्टाइनमा प्रयोग गर्न हस्तान्तरण गरेका छन् । उनीहरुले उक्त क्वारेन्टाइनमा महिला, बालबालिका र वृद्धवृद्धालाई राख्नुपर्ने शर्तमा कार्यालय दिएका हुन् ।

सारा विश्व कोरोना भाइरसको महामारीको लडाईमा लडिरहेको बेला शाहरुखले पुनः एकपटक सहयोगको हात अगाडि बढाएका हुन् । शाहरुख र गौरीको उदारताका लागि धन्यवाद दिँदै बीएमसीले ट्वीटरमा आफूहरुको क्वारेन्टाइन क्षमता बढाउनका लागि कलाकार दम्पतीले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गरेको छ । यसअघि शाहरुखले कोभिड १९ का विरुद्ध सरकारलाई सहयोग गर्न आर्थिक अनुदान दिइसकेका छन् ।

शाहरुखको आइपीएल फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स(केकेआर)को माध्यमबाट पीएम केयर फन्डमा पनि सहयोग गरेका छन् । उनको होमप्रोडक्सन रेड चिलीज एन्टरटेनमेन्टको माध्यमबाट महाराष्ट्रको मुख्यमन्त्री राहत कोषमा पनि सहयोग गरेका छन् । उनले महाराष्ट्र र पश्चिम बंगालमा रहेका स्वास्थ्य सेवा प्रदायक र श्रमिकका लागि व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) दिने वचनबद्धता व्यक्त गरिसकेका छन् ।

शाहरुखको मीर फाउन्डेसनले मुम्बईमा एक महिनाका लागि ५५ हजार बढी परिवारलाई खाद्यान्नसँगै पिउने पानीको पनि उपलब्ध गराउनेछ ।