सेलेनालाई बाइपोलार डिसअर्डर

लसएन्जल्स(एजेन्सी) । हलिउड गायिका तथा नायिका सेलेना गोमेजले आफू ‘बाइपोलार डिसअर्डर’ रोगसँग लडिरहेको खुलासा गरेकी छन् । गोमेजले उनको साथी तथा गायिका माइली साइरससँग इन्स्टाग्राम लाइभ शोमा यो कुराको जानकारी दिएकी हुन् । आफूले म्यासाचुसेटस्थित म्याकलिन अस्पताल जाँदा आफ्नो मानसिक अवस्थाको बारे थाहा पाएको बताएकी हुन् ।

उनले अस्पतालमा रहँदा आफूले बाइपोलार सम्बन्धी धेरै सूचना पाएको बताईन् । उनले त्यो रोग पत्ता लगाउन डाइग्नोसिस समेत गरेको जानकारी दिइन् । ‘जब मसँग धेरै सूचना थियो, त्यसले मलाई सहयोग गर्यो । त्यो सूचनाका कारण मैले डराउने मौका नै पाइनँ’, उनले भनिन् ।

सेलेनाले आफू सानो छँदा आँधीबेहरीबाट निकै डराउने गरेको समेत खुलाएकी छन् । ‘त्यो समयमा मेरो आमाले मलाई आधीबेहरी सम्बन्धी सबै पुस्तकहरु देखाउनुहुन्थ्यो । ती पुस्तक मलाई निकै मनपर्थे ।’ सेलेनाले भनेकी छन् ।

सेलेना सन् २०१८ देखि मानसिक स्वास्थ्य समस्याले ग्रस्त छिन् । उनी म्याकलिन अस्पतालमा नियमित रुपमा मानसिक अवस्थाको चेकजाँचका लागि गइरहन्छिन् । सन् २०१८ मा डिप्रेसन र चिन्ताले ग्रस्त भएपछि उनी अस्पताल गएकी थिइन् । सन् २०१९ मा अस्पतालको वार्षिक भोजमा उनलाई ‘म्याकलिन अवार्ड’ पनि प्रदान गरिएको थियो ।