सामान्य अवस्थाको पर्खाइमा यौनकर्मी

मुम्बई(एजेन्सी) । चीनबाट फैलिएको कोरोना भाइरस(कोभिड–१९)को कहरले विश्व समुदाय प्रताडित भइरहेको छ । विश्वका विभिन्न मुलुक लकडाउन भइरहेको बेला भारत पनि यो लकडाउनबाट अछुतो छैन । लकडाउनका कारण आम मानिसहरु घरभित्रै बसिरहँदा भारतमा यौन व्यवसायमा संलग्न यौनकर्मीहरुको अवस्था पनि उस्तै छ । उनीहरु सामान्य अवस्थाको पर्खाइमा छन् ।

नासिककी रेखा एक यौनकर्मी हुन् । उनी एक स्वयंसेवी संस्थाकी अधिकारकर्मी हुन् । जुन संस्था यौनकर्मीका लागि कार्यरत छ । ‘सामाजिक दुरी र बाँकी कुरा सबै ठिक छन् । तर हामीलाई आफ्नो व्यवसाय गर्न अहिले अनुमति दिइएको छैन । हामी पैसा कमाउन सक्दैनौं र यस्तो अवस्थामा हामी बच्चालाई खाना पनि खुवाउन सकिरहेका छैनौं’, उनी भन्छिन्,‘लकडाउनको घोषणा भन्दा तीन दिन अघि नै हामीले आफ्नो कामकाज बन्द गरेका थियौं । यो भाइरसबाट संक्रमित व्यक्तिका कारण दोस्रो व्यक्ति पनि संक्रमित नहोस् भन्ने चाहन्थ्यौं । हामी पनि दोस्रो व्यक्तिका कारण संक्रमित नहुनुपरोस् भन्ने चाहन्थ्यौं । त्यसो त हामी हरेक समय डरको छायामा बाचिरहेका छौं । हाम्रो सन्तान ठूलो भइरहेका छन्, आगामी दिनमा हामीे पनि आफ्नो जीविकाको बारेमा सोच्ने समय आइसकेको छ ।’

कोरोनाको खतरा बढ्दै गएपछि भारतका सम्पूर्ण रेडलाइट इलाकामा यौनकर्मीले आफ्नो व्यवसाय बन्द गरिसकेका छन् । उनीहरुले लकडाउन घोषणा हुनु अघि नै यो निर्णय लिएका हुन् । अहिले उनीहरुले आफ्नो इलाकामा कोही पनि ग्राहकलाई आउन दिएका छैनन् । लकडाउनका कारण व्यवसाय बन्द भएपछि यौनकर्मीमाझ पैसाको अभाव खड्किन थालेको छ । साना दोकानदार, एजेन्ट र ठेलावालाको कमाई पनि बन्द भइसकेको छ । उनीहरुको काम पनि यौनकर्मीको व्यवसायबाट नै टिक्दथ्यो ।
रानीखाला भिवन्डीकी एक यौनकर्मी हुन् । उनी भन्छिन्,‘हामीसँग एक रुपैंयाँ पनि बचेको छैन । हामी आफ्नो दैनिक रोजीरोटीलाई लिएर चिन्तित छौं । हामी अहिले स्वयंसेवी संस्थामा टिकिरहेका छौं,’ उनले भनेकी छन् । रेडलाइट एरियामा कयौं एचआइभी पोजिटिभ र क्षयरोगी छन् । उनीहरुका लागि क्लिनिक जान समस्या भएको छ ।

भिवन्डीको हनुमान टेकडीको रेडलाइट इलाकामा ५ सय ६५ यौनकर्मी छन् । यीमध्येका २० स्वयंसेवी यी यौनकर्मीको सहयोगका लागि काम गरिरहेका छन् । यी स्वयंसेवीका कारण अन्य यौनकर्मीले ग्रोसरी, दूध र आवश्यक सामान पाइरहेका छन् ।

आर्थिक अवस्था राम्रो भएका यौनकर्मीले खराब अवस्थाबाट गुज्रिरहेका यौनकर्मीलाई सहयोग गरिरहेका छन् । ‘एक महिला मेरो घर छेउमा बस्दछिन् । उनको परिवारमा आठ सदस्य छन् । उनी आफ्ना लागि फूड प्याकेटको सहारा लिन्छिन् । तर परिवारका बाँकी सदस्यको पेट कसरी भराउँछिन् ? अन्तिम अवस्थामा मैले उनलाई १० हजार रुपैंयाँ दिएँ । हामीसँग योबाहेक अर्को विकल्प छैन’, रेखा भन्छिन् ।