लकडाउनमा अनौठा हर्कत

न्यूर्योक(एजेन्सी) । कोरोना भाइरसको प्रकोप सारा विश्वमा फैलिएको छ । कैयौं देशले लकडाउन नै लगाइसकेको छ । केही देशमा आंशिक रुपमा लकडाउन भएका छन् । यो अवस्थामा मानिसहरु घरमै बस्न बाध्य छन् । तर यही लकडाउनको समयमा केही ठाउँमा अनौठा किसिमका काम भएका छन्, जुन कुरालाई अहिले मानिसले सोच्न पनि सक्दैनन् । केही स्थानमा लकडाउनकै बेला विवाहको पार्टी चलिरहेको छ भने कोही भने नयाँ लुगा लगाएर फोहोर फाल्न गइरहेका छन् । उनीहरु यी क्षणलाई क्यामरामा नै कैद गरिरहेका छन् ।

लकडाउनको समयमा विवाह भन्ने कुरालाई कसैले सोच्न पनि सक्दैन । कोरोना भाइरसको बढ्दो प्रकोपका बीच यसतो काम गर्नु एक किसिमको मुर्खता पनि हो । यही समयमा न्यूर्योकमा एक जोडी डेन स्टुगलिक र एपी सिमोन्सले लकडाउनलाई वेवास्ता गर्दै विवाह नै गरेका छन् । भलै उनीहरु सक्कली दुलाहा दुलही भए पनि उनीहरुको पाहुना भने नक्कली थिए । लकडाउनको समयमा पाहुना आउन नसकेपछि पाहुना बस्ने स्थानमा गत्ता राखिएको थियो । जसले विवाहमा पाहुना पनि छन् है भन्ने आभाष दिएको थियो ।

डेन र एपीका अनुसार उनीहरुको विवाहमा १ सय ६० जना पाहुना सहभागी हुने पूर्व तयारी थियो । तर कोरोना भाइरसको प्रकोपले सबै पाहुना आउन सकेनन् । पाहुना आउन नपाएपछि उनीहरुको अभाव खड्किन नदिनका लागि मानवीय आकारको गत्ता निर्माण गरेर कुर्सीमा राखिएको थियो । चर्चामा गरिएको विवाहमा गत्ता पाहुनाबाहेक दुलहादुलही र उनीहरुको विवाह गराइदिने एक महिला मात्र थिए ।

कोरोना भाइरसका कारण लकडाउन गरिएपछि मानिसहरु घरबाहिर निस्किएका छैनन् । उनीहरुको घरमा पार्टीमा लगाउने कपडाले लुगा राख्ने र्याक शोभायान बनाएका छन् । हालैमात्र एक महिलाले लकडाउनका बेला यो लुगाबाट एउटा जुक्ति निकालिन् । उनको तरिकालाई अन्य महिलाले निकै रुचाए । डेनियल आस्केलेले घरको फोहोर फाल्नका लागि फेन्सी पहिरन लगाएर बाहिर निस्किइन् । अष्ट्रेलियाको क्वीन्सलेण्डमा बस्ने डेनियलले सामाजिक सन्जालमा उक्त तस्बिर राखिन् ।