लकडाउनमा विवाह गर्ने जोडी पक्राउ

जोहान्सबर्ग(एजेन्सी) । दक्षिण अफ्रिकामा कोरोना भाइरसको कारण लागु भएको लकडाउनमा विवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुलाहादुलहीसँगै उनीहरुको विवाहमा सहभागी ५० जना पाहुनालाई पनि पक्राउ गरेको छ । ४८ वर्षे जबुलानी जुलु र ३९ वर्षीया नोमथाङ्जोको विवाहमा प्रहरी पुगेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले यो विवाहलाई रोक्नका लागि हवाई फाइरिङ नै गर्नुपरेको थियो । यो दृश्यको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । भिडियो र फोटोमा जोडीलाई पक्राउ गरेपछि प्रहरी भेनमा राखिएको प्रष्ट देखिन्छ ।

दक्षिण अफ्रिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि लकडाउन गरेको छ । समाचार अनुसार प्रहरीले विवाहको सूचना पाउनासाथ क्वाजुलु–नतालमा भइरहेको विवाह कार्यक्रमलाई रोकेको हो । प्रहरीले पक्राउ गरेपनि केही घण्टापछि सबैलाई जमानतमा रिहा गरेको छ ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणको संख्या १ हजार ८ सय ४५ छ । यो संक्रमणबाट १८ जनाको ज्यान गइसकेको छ ।