आफन्तको चिहान खोज्दै चिनियाँ

बेइजिङ(एजेन्सी) । चीनको बुहान सहरमा ७६ दिनको लकडाउन खुलेपछि त्यहाँका मानिसहरुले आफ्ना आफन्तको चिहान खोज्न थालेका छन् । केही मानिसहरु भने आफन्तको अन्तिम संस्कारको तयारीमा जुटेका छन् । कोरोना भाइरस र अन्य कारणले मरेका मानिसको शवलाई अस्पतालको शव गृहमै राखिएका कारण आफन्तहरुले ती शव निकालेर अन्तिम संस्कार गर्न थालेका छन् ।

चीनको बुहानबाट शुरु भएको कोरोनाको कहर अहिले विश्वभरी फैलिएको छ । बुहानमा मृतक संख्या बढ्न थालेपछि गत जनवरी २५ मा चिनियाँ सरकारले सहर भित्र अन्तिम संस्कारमा रोक लगाएको थियो । अन्तिम संस्कारमा रोक लगाएपछि सरकारले चिहान घरमा ताला लगाइदिएको थियो ।

सरकारले चिहानमा मानिसको भेला भएर संक्रमण बढ्ने खतरा देखेपछि सबैलाई घरमा नै बस्न आदेश दिएको थियो । यसैबीच चीनमा कोरोनाका कारण मर्नेको संख्या लुकाइएको आरोप लाग्न थालेको छ । चीनको हुबेई प्रान्तको बुहानमा मृतकको संख्याको आँकडामा फेरबदल गरिएको आरोप लागेको हो । बुहानमा एक भिडियो भाइरल भएको थियो, जहाँ पछिल्लो २४ घण्टामा बुहानको मसानघाटमा शवलाई ३२ घण्टासम्म जलाइएको देखाइएको थियो ।