९९ वर्षे वृद्धको यस्तो जोस

लण्डन(एजेन्सी) । ९९ वर्षको कोही वृद्ध बगैंचामा सय पटक चक्कर लगाउँछन् भन्ने सुन्दा सायदै कसैलाई विश्वास नलाग्ला । लण्डनमा हालै यस्तै एउटा घटना भएको छ । बुढ्यौली उमेरले झुकेको कम्मर र कमजोर शरीरका बाबजुद पनि उनको जाँगर मरेको छैन । दोस्रो विश्वयुद्धमा सहभागी क्याप्टेन टम मुरेले कोरोनाको युद्धमा लडिरहेका स्वास्थ्य संस्था एनएचएसको सहयोगका लागि अर्थ जुटाउन उनले बगैंचामा सय चक्कर लगाएका हुन् । उनी आफ्नो देशका मानिसहरु कोरोनाबाट पीडित भएको देख्दा निकै दुःखी छन् । त्यही कारण यो उमेरमा पनि उनले आफ्नो तर्फबाट यो सहयोग गरेका हुन् ।

टमको यो प्रयासले २ दशमलब ५ मिलियन पाउण्ड भन्दा अधिक रकम जम्मा भइसकेको छ । जुन रकम उनले एनएचएसलाई दान गर्नेछन् । टमले एनएचएसको तर्फबाट उनलाई मिलेको सेवाप्रति आभार व्यक्त गरेका छन् । त्यसको बदलामा उनले यो सहयोग गरेको बताएका छन् । ‘म क्याप्टेन टम सुरे हुँ । म वार भेटरन हुँ र मेरो उमेर ९९ वर्ष पुगेको छ । म चाँडै सय वर्षको हुँदैछु । मैले हाम्रा हिरोका लागि पैसा जुटाउनका लागि हिँडेको छु’, उनले ट्वीट गरेका छन् ।

ब्रिटेनमा कोरोना भाइरसबाट मर्नेको संख्या १२ हजार भन्दा माथि पुगिसकेको छ । यो रोगबाट ९३ हजार मानिस संक्रमित छन् । जसले एनएचएसमाथि भार बढाएको छ । कोरोनासँग जुधिरहेका एनएचएसका डाक्टरहरुलाई पुरा देशले सराहना गरिरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले पनि उनीप्रति आभार व्यक्त गरेका छन् ।