कोरोना कारण गर्भवती नर्सको निधन, बच्चा स्वस्थ

लण्डन(एजेन्सी) । ब्रिटेनमा कोरोना भाइरसका कारण एक गर्भवती नर्सको निधन भएको छ । तर उनबाट सफलतापूर्वक बच्चाको जन्म भएको छ । बच्चाको अवस्था अहिले ठिक छ । लण्डनको उत्तरी ल्यूटन एण्ड डन्स्टेबल युनिभर्सिटी अस्पतालको एक जनरल वार्डमा काम गर्ने २८ वर्षीया मेरी अग्यीवा अग्यपोङको हालै निधन भएको हो ।

कोरोनाका कारण आमाको निधन भए पनि बच्चामा संक्रमण छ या छैन भन्ने केही टुंगो लागेको छैन । बेडफोर्डशायर हस्पिटल्स एनएचएस फाउण्डेशन ट्रस्टले गत पाँच अप्रिलमा मेरीलाई गरिएको जाँचमा कोरोना संक्रमण पाइएको जनाएको छ । उनलाई सोही अस्पतालमा सात अप्रिलमा भर्ना गरिएको थियो । ट्रस्टका प्रमुख कार्यकारी अधिकृत डेविड कार्टरले मेरीले अस्पतालमा पाँच वर्ष काम गरेको र उनी समूहकै सम्मानित र प्रिय सदस्य रहेको बताए ।

ब्रिटेनमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षात्मक उपकरणको अभाव भइरहेका बेला यो घटना भएको हो । यसैबीच ब्रिटेनमा १ सय ६ वर्षकी कोनी टिटचेनले कोरोनालाई जितेकी छन् । ब्रिटेनमा सबैभन्दा बढी उमेरकी वृद्धले कोरोनालाई जितेको यो नै पहिलोपटक हो । मध्य इंग्ल्याण्डको बर्मिघमका सिटी अस्पतालका डाक्टरले करिब तीन हप्ताको बिरामी पछि कोनी ठिक भएको बताएका छन् ।