वासिङ्टन(एजेन्सी) । अमेरिकामा हालै गरिएको एक अध्ययनले नियमित व्यायाम गर्नेलाई कोरोना भाइरसको जोखिम कम हुने देखाएको छ । अध्ययनकर्ताहरुले नियमित व्यायाम गर्ने मानिसमा एक्यूट रेस्पिरेट्री डिजीज सिन्ड्रोम(एआरडीएस)को खतरा कम हुने देखाएको हो । यो सिन्ड्रोमका कारण संक्रमित कोरोना भाइरसवाला व्यक्तिको मृत्यु हुने गरेको छ ।
अमेरिकाको भर्जिनिया विश्वविद्यालयका शोधकर्ताले नियमित व्यायाम एआरडीएसका लागि एक सम्भावित उपचार हुने उल्लेख गरेका छन् । जर्नल रेडक्स बायोलोजीमा प्रकाशित अध्ययन अनुसार व्यायामले एआरडीएसको गम्भीरतालाई रोक्ने या क मगर्न सक्छ । एआरडीएसले कोरोना संक्रमित ३ देखि १७ प्रतिशत बिरामीलाई प्रभावमा पार्दछ ।
अध्ययन अनुसार कोरोना भाइरसका कारण अस्पतालमा भर्ना गरिएका बिरामीमा २० देखि ४२ प्रतिशत एआरडीएस विकसित हुन्छ । कोरोना महामारी शुरु हुनुभन्दा केही समय अघि गरिएको अध्ययनले गम्भीर एआरडीएसको समस्या भएका करिब ४५ प्रतिशत रोगीको मृत्यु हुने गरेको छ । युनिभर्सिटी अफ भर्जिनिया स्कूल अफ मेडिसिनका जेन यानले वर्तमान अवस्थामा मानिसहरु जीवित हुन कि त सामाजिक दुरीमा बस्नुपर्ने या भेन्टिलेटरमा बस्नुपर्ने बताए । ‘हाम्रो मांशपेशीहरु स्वाभाविक रुपमा सुपरअक्साइड डिसम्यूटेज बनाउँछ । जो आफैमा एक शक्तिशाली एन्टीअक्सिडेन्ट हो । यसले हानिकारक कणको शिकार गर्दछ र मानिसलाई बिरामी हुनबाट रोक्दछ । शरीरमा यसको मात्रा भित्री व्यायामबाट बढाउन सकिन्छ ।’ उनले भनेका छन् ।
यानले आम मानिसलाई सामाजिक दुरी कायम राखेर व्यायाम गर्न सल्लाह दिएका छन् । उनले मानिसहरु सधैंका लागि आइसोलेशनमा नरहने भन्दै नियमित व्यायामले नै स्वास्थ्यलाई फाइदा पु¥याउने दाबी गरे ।