भिडियो कन्फरेन्सबाट अन्तिम संस्कार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता इरफान खानकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी सइदाको शनिबार निधन भएको हो । राजस्थानको टोंकको नवाब खानदानकी सदस्य सइदाले शनिबार जयपुरमा अन्तिम सास फेरेकी हुन् । अभिनेता इरफानले आमाको अन्तिम अनुहार हेर्न पाएनन् । आफैं अस्वस्थ उपचारका लागि हाल विदेशमा छन् ।

इरफानले आमाको अन्तिम संस्कार भिडियो कन्फ्रेन्समार्फत गरेका छन् । उनको अन्तिम संस्कार शनिबार बेलुका गरिएको थियो । उनको अन्तिम संस्कार जयपुरको बाहरी इलाकामा गरिएको थियो । जहाँ परिवारका केही व्यक्तिमात्र सहभागी थिए । इरफानका ठूलो दाई सलमानले नै आमाको अन्तिम संस्कार गरेका थिए । ‘मेरी आमा पछिल्लो केही समयदेखि बिरामी हुनुहुन्थ्यो । तर शनिबार अचानक उहाँको स्वास्थ्य अवस्था बिग्रियो । हालै मात्र आमाले इरफानको स्वास्थ्य अवस्थाबारे चासो लिनुभएको थियो’, सलमानले भनेका छन् ।

इरफान आफै लामो समयदेखि अस्वस्थ छन् । उनी सन् २०१७ देखि अस्वस्थ भएका हुन् । पछिल्लो केही समय उनको स्वास्थ्यमा सुधार पनि आएको थियो । उनले उपचार पछि फिल्म ‘अंग्रेजी मिडियम’को सुटिङ गरेका थिए । लकडाउन अघि यो फिल्म रिलिज भएको थियो ।