नवाज सरिफलाई गिरफ्तार वारेन्ट जारी

लाहोर(एजेन्सी) । पाकिस्तानको भ्रष्टाचार नियन्त्रण इकाईले आइतबार ३४ वर्ष पुरानो जमिनसँग जोडिएको भ्रष्टाचारको मामलामा पूर्व प्रधानमन्त्री नवाज सरिफलाई गिरफ्तारी वारेन्ट जारी गरेको छ । पाकिस्तान मुस्लिम लीग नवाज(पीएमएल–एन)काका ७० वर्षे प्रमुख नवाज हाल लण्डनमा उपचाररत छन् ।

राष्ट्रिय जवाबदेही ब्यूरो (एनएबी)का एक अधिकारीका अनुसार जंग समूहका प्रधानसम्पादक मीर शकीलुर रहमानसँग जोडिएको जमिनको एक मामलामा शरीफका विरुद्ध एनएबीले गिरफ्तारी वारेन्ट जारी गरेको हो । ‘शरीफलाई सूचना र प्रश्नावली पठाइएको छ । हालसम्म उनको तर्फबाट कुनै जवाफ आएको छैन’, उनले भनेका छन् ।

ती अधिकारीले यदि शरीफले अनुसन्धानमा सहयोग गरेनन् भने उनलाई भगौडा घोषित गर्नका लागि एनएबीले राष्ट्रिय जवाबदेही कोर्टमा अपिल गर्ने बताए । एकपटक शरीफलाई भगौडा घोषणा गरेपछि उनलाई सुपुर्दगीको कोशिस गरिनेछ । शरीफलाई २७ मार्चमा एनएबीले प्रश्नावली पठाउँदै बयान दर्ता गराउनका लागि ३१ मार्चमा कार्यालय बोलाएको थियो । दुबईस्थित इण्डिपेन्डेन्ट मिडिया कर्पोरेशनको सहायक कम्पनी जियो ग्रुपका रहमानलाई गिरफ्तार गरिसकेको छ ।