साथिया तेरे बिनामा रिस्ता र मञ्जुल

काठमाडौं । भारतमा टिकटक हुँदै म्युजिक भिडियोमा चर्चित बनिरहेका मोडल मञ्जुल खट्टर र नेपाली अभिनेत्री रिस्ता बस्नेत अभिनित हिन्दी गीत ‘साथिया तेरे बिना’को भिडियो सार्वजनिक भएको छ । गत फागुनमा पोखरामा छायांकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । हिन्दी भाषाकै गीतको छायाँकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे ।

नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यही गीतको छायांकनको लागि पहिलो पटक नेपाल आएका थिए । उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् ।

गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको र संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शक्याले निर्देशन गरेका छन् ।

फिल्म ‘यात्रा’ मार्फत निर्देशनमा आएका सम्राटको यो पहिलो भिडियो निर्देशन हो । भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, कमल राईको नृत्य, अर्जुन जिसीको सम्पादन, रेनिश फागोको कलर करेक्सन, वसन्त घर्ति मगरको भीएफएफ्क्स, यादव पौडेलको प्रोडक्सन र सुरेश न्यौपानेको सहायक निर्देशन छ ।