मोबाइलको अधिक प्रयोगले उर्वशीलाई टेनिस एल्बो

मुम्बई(एजेन्सी) । लकडाउनको अवधिमा सबै मानिसहरु घरमा नै बसिरहेका छन् । घरमै बस्नेमा सेलिब्रेटी पनि छन् । यस्तो बेला सबै मानिसहरु सामाजिक सन्जालमा सक्रिय छन् । जसकारण मोबाइल फोनको प्रयोग अत्याधिक भइरहेको छ ।

टेलिभिजन अभिनेत्री उर्वशी ढोलकिया यो समयको उपयोग आफ्नै शैलीमा गरिरहेकी छन् । उनी अहिले ट्रेन्डिङ नाउ नामक भर्चुअल च्याट शो चलाइरहेकी छन् । तर यी सबै हुँदा हुँदै पनि यतिबेला उर्वशी एउटा समस्यामा परेकी छन् । मोबाइलको बढी प्रयोगले उर्वशीलाई टेनिस एल्बो भएको छ ।

अभिनेत्रीले आफूलाई टेनिस एल्बो भएको बताएकी हुन् । ‘केही समय अघि मलाई टेनिस एल्बो भएको थियो । फोन समातेको समातेकै गर्दा यस्तो भएको हो । किनकी मेरो सबै काम मोबाइलबाटै हुन्छ । मेरो शोका लागि कैयौं पटक मोबाइलबाटै आफैं सम्पादन गर्छु । तपाईंहरुले हेर्नु भएको अधिकांश एपिसोड मैले नै सम्पादन गरेका हुन्’, उनले भनेकी छन् ।

स्वास्थ्यको भाषामा टेनिस एल्बोलाई लेटरल इपिकोन्डिलिटिस पनि भनिन्छ । यस्तो समस्या हुँदा कुहिनामा दखाई बढी हुन्छ । कुहिनामा हड्डी वा मांशपेशिमा धेरै दबाब हुँदा टेनिस एल्बोको समस्या हुन्छ । आम रुपमा खेलाडी र युवामा शारीरिक गतिविधिका बेला नाडी र औलाको चलायमानले मांशपेसीमा दबाबका कारण कुहिनामा समस्या हुन्छ ।