कारका सौखिन थिए ऋषि कपूर

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात अभिनेता ऋषि कपूरको निधनले बलिउड फिल्म उद्योगमा ठूलो झट्का लागेको छ । उनकी पत्नी नीतू कपूर, छोरा रणवीर कपूर र छोरी रिद्धिमाका लागि फिल्म उद्योगसँग जोडिएका सबै व्यक्तिले समवेदना दिइरहेका छन् । बाल कलाकारका रुपमा करियर शूरु गरेका ऋषिले अभिनयमा अगाडि बढ्दै कैयौं सुपरहिट फिल्म दर्शक तथा बलिउडलाई दिए ।

रोमान्टिक हिरोको छवि बनाएका ऋषिले केही दशकपछि अलग–अलग चरित्र निर्वाह गरे । करिब सय बढी फिल्ममा अभिनय गरेका ऋषि एक समय सर्वाधिक पारिश्रमिक लिने कलाकार थिए । ऋषि खानदानी परिवारका थिए । यही कारण उनलाई सम्पत्तिको कहिल्यै अभाव भएन । अब उनको ती सम्पत्तिको उत्तराधिकारी उनका सन्तानपुस्ता हुनेछन् । समाचार अनुसार ऋषिको कुल सम्पत्ति ३ सय करोड रुपैंयाँ छ ।

ऋषिको मुम्बईको पालीहिलमा एक भव्य घर छ । यो घरको नाम ‘कृष्णा राज’ हो, जुन घर करिब एक एकडमा बनेको छ । घरमा स्वीमिङ पूल, थिएटर सिष्टम र अन्य विलासीजन्य सामाग्री छन् । ऋषि कारको ठूला सौखिन थिए र उनलाई रोयल एसयूवी र ओडी ब्राण्डका गाडी मनपथ्र्यो । यसबाहेक उनीसँग पोर्सचे, बेन्टले, बीएमडब्लूजस्ता गाडीको संग्रह थियो, जसको मूल्य करोडौं थियो ।

ऋषिको वार्षिक कमाई २० करोड रुपैंयाँ थियो । फिल्ममा अभिनयका अलावा उनी निर्माता र निर्देशक पनि हुन् । यसबाहेक उनी अलग अलग व्यावसायको एक हिस्सेदार पनि थिए । उनी कैयौं विज्ञापनमा अभिनय गरेर पनि पैसा कमाउथे ।