धराने संगीतकर्मीको चेतनामूलक गीत

धरान । अहिले विश्व नै कोरोना संक्रमणको पीडामा छ । कोरोना महामारीबाट बच्न अहिलेको परिवेशमा एक मात्र उपाय दुरी कायम गरी घरमै बस्नु नै रहेकोले सबैतीर लकडाउन गरिएको छ । अहिले हामी सबै मिलेर कोरोना महामारीसँग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालना नै हो । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

यसै सन्दर्भमा धरानका केही संगीतकर्मीहरु मिलेर कोरोना महामारीबाट बच्न ‘घरमै बसौं’ भन्दै एउटा सचेतनामुलक गीतको भिडियो तयार पारेका छन् । संगीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा, सन्जिब लामा तामाङ र मनोज मोतेको समुहले घरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाईलबाट नै सम्पादन गरी म्युजिक भिडियोसमेत तयार गरेका छन् ।

‘हामी बाँचौ, यो देश बचाऔं, संसारलाई बचाऔं’बोलको गीतको रचना, संगीत, संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के, सन्जिब लामा तामाङ र मनोज मोतेले स्वर दिएका छन् । गीतको मिक्सिङ हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामा तामाङले गरेका छन् । गायक सन्जिबले घरमै बसे पनि प्रविधिको प्रयोग गरेर सबैले घरबाट नै काम गरेर यो गीत तथा म्युजिक भिडियो तयार गरेको बताए ।