आत्महत्याको सोचमा थिए क्रिकेटर शमी

मुम्बई(एजेन्सी) । भारतीय क्रिकेटका तिब्र बलर मोहम्मद शमीले इन्स्टाग्राममा क्रिकेटर रोहित शर्मासँगको लाइभ च्याटमा आफ्नो निजी जिन्दगीसँग जोडिएका केही कुराहरु सुनाएका छन् । शमीले निजी र व्यावसायिक जीवनका कारण आफू निकै तनावमा रहेको र तीन पटकसम्म आत्महत्या गर्ने सोच बनाएको खुलासा गरेका छन् ।
उनले आफू त्यो मुस्किलको समयमा परिवारको सहयोगले बाहिर निस्किएको बताए ।

‘सन् २०१५ मा वल्र्डकपको बेला घाइते भएको थिएँ । यसपछि मलाई भारतीय टिममा फर्कन १८ महिना लाग्यो । यो मेरो करियरको सबैभन्दा कठिन समय थियो’, उनले भनेका छन्, ‘तपाईंलाई थाहा छ कि चोटले पुनः फर्कन कति गाह्रो पर्छ । चोट लागेपछि पारिवारिक समस्या शुरु भयो । आइपीएल शुरु हुनुभन्दा झन्डै १२ दिन अघि म दुर्घटनामा परें । मेरो निजी मामलालाई लिएर मिडियाले निकै बढाएर समाचार लेखे ।’

शमीले परिवारको सहयोग नमिलेको भए आफूले क्रिकेट छोड्नुपर्ने अवस्थामा पुगेको खुलासा गरेका छन् । ‘मैले तीनपटक आत्महत्याको सोच बनाएको थिएँ । घरमा कोही न कोही मप्रति नजर राखिरहन्थे । मेरो घर २४ औं तलामा थियो र घरवालालाई म अपार्टमेन्टबाट हामफाल्न सक्छु भन्ने लागेको थियो ।’ उनले परिवारको साथ र शक्तिले आफू तन्दुरुस्त भएको बताए ।

‘उहाँहरु जहिल्यै हरेक समस्याको समाधान हुन्छ, तिमी केवल आफ्नो खेलमा ध्यान दिनु भन्ने गर्नुहुन्थ्यो । तिमी जेमा राम्रो छौ, त्यसमा डुब्नु भन्ने गर्नुहुन्थ्यो । त्यसपछि मैले सबै कुरा छोडेर नेटमा अभ्यास गर्न थालें । मैले पहिला दौडन शुरु गरें । मैले राम्रो गरिरहेको छु या छैन भन्ने सम्झेर पनि तनाव हुन्थ्यो’, उनले भनेका छन् । अभ्यासको समयमा आफू उदास हुँदा पनि परिवारको सदस्यले ध्यान दिएर खेल्न आग्रह गर्ने गरेको उनले बताए । ‘मेरो भाइ मसँगै बस्थ्यो । मेरो केही साथीहरु हौसला बढाउँथे । म ती साथीहरुलाई बिर्सन्नँ । यदी उनीहरु थिएनन् भने म आफूलाई क्षतिग्रस्त बनाउँथे’, शमीले भनेका छन् ।

शमीको श्रीमति हसीनसँग सन् २०१८देखि विवाद भइरहेको थियो । हसीन जहानले शमी र उनको परिवारमाथि उत्पीडनको आरोप लगाएकी थिइन् । हसीनले शमीमाथि म्याच फिक्सिङमा सहभागी भएकोसम्म आरोप लगाएकी थिइन् । यसबाहेक सामाजिक सन्जालमा शमीले अन्य महिलासँग गरेको कुराकानीको स्क्रिनसट पनि शेयर गरेकी थिइन् । बीसीसीआईले अनुसन्धानको लागि शमीको सम्झौता निलम्बन गरेको थियो । तर जाँच पछि शमीलाई फिक्सिङको आरोपबाट मुक्ति दिएको थियो ।

पश्चिम बंगालको एक स्थानीय अदालतले घरेलू हिंसाको मामलामा शमीका विरुद्ध गिरफ्तारी वारेन्ट पनि जारी गरेको थियो । तर पछि त्यो वारेन्टलाई रद्द गरिएको थियो । यी सबै हुँदाहुँदै उनी सन् २०१८ मा सडक दुर्घटनामा परेका थिए । यी सबै समस्यालाई झेल्दै शमीले डिसेम्बर २०१८ मा अष्ट्रेलियाको मैदानमा खेलिएको सिरिजमा जबरदस्त कमव्याक गरे, त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।