आविस्कार केन्द्रलाई रुक्माङ्गदको एक लाख

काठमाडौं । डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल ट्रस्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैया प्रदान गरेको ट्रस्टले जनाएको हो ।

विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत्त व्यवस्थापन राष्ट्र, राष्ट्रियता र अन्य सामाजिक कार्यमा सक्रिय ट्रष्टले देशको सर्वाङ्गिण विकासका लागि कठिन परिस्थितिका बाबजुद दिन रात खटिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको जनाएको छ ।

ट्रष्टका अध्यक्ष रुक्माङ्गत कटवालले आविस्कार केन्द्रले हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पिपिइ लगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका असहाय, अपाङ्ग तथा सीमान्तकृत वर्गका ५३ जना विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको ट्रष्टका सचिव जगतबहादुर कटवालले जनाए ।