कोरोना प्रभावितलाई धुर्मुश सुन्तलीको निःशुल्क भोजन

काठमाडौं । अहिले विश्व कोरोना भाइरसको चपेटामा छ । सबै नेपाली लकडाउनका कारण घरमा नै बसिरहेका छन् । कोरोना प्रभावितहरुका लागि विभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज वितरण गरिरहेका छन् । यसैक्रममा धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागि विभिन्न राहत सामाग्री वितरण गरिरहेको छ । कोरोनाको महामारीले विभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खानसमेत समस्या भएका नेपालीहरुका लागि फाउण्डेशनले विभिन्न तरिकाले सहयोग गरिरहेको छ ।

फाउण्डेशनले पहिलो चरणमा उद्धार कार्य र दोश्रो चरणमा राहत वितरण गर्दै अहिले निःशुल्क भोजनको व्यवस्था गरेको छ । सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, असहाय तथा विपन्न परिवारहरुको समस्यालाई मध्यनजर गरी फाउण्डेशनले ललितपुरको थसिखेलमा निशुल्क भोजनको व्यवस्था गरेको हो । ललितपुरस्थित प्रतिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा फाउण्डेशनले मंगलबारबाट प्रतिभा सहकारीको भवन अगाडी भोजनको व्यवस्था गरेको हो । अशक्त तथा विपन्नवर्गका पीडितहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निशुल्क भोजनका लागि त्यहाँ जान सक्नेछन् ।

बिभिन्न स्थानमा रहेका नेपालीहरुलाई सहयोग गर्न धुर्मुस सुन्तली फउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सबैलाई अनुरोध समेत गरेका छन् । उनले फेसबुकमा स्ट्याटस राख्दै विपदमा सबैले सहयोग गरौं भन्दै पीडित पहिचान गरी आवश्यक सहयोग गर्नु नै मानवीय धर्म निर्वाह गर्नु भएकाले सहयोग गरि उद्धार गर्न समेत अपिल गरेका हुन् ।

बैसाख ९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत दुई सयजना विद्यार्थीहरुका लागि राहत वितरणसँगैं कोरोना प्रभावितहरु पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ । त्रिभुवन विश्वबिद्यालयका २ सय बिद्यार्थीहरुका लागि फाउण्डेशनले २ सय बोरा चामल, ६ सय केजी दाल, २ सय पाकेट नुन, २ सय लिटर तेल र २ सय कार्टुन बिस्कुटसहित खाद्यान्न सहयोग प्रदान गरेको हो । झापामा अलपत्र परेको चितवनका २४ बिद्यार्थीहरुलाई चितवन र ललितपुरमा अलपत्र अवस्थामा रहेका ९५ जना मजदुरहरुलाई २ वटा बस रिजर्भ गरी उनीहरुको गृहजिल्ला दाङ पठाईएको थियो ।

धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाडौं, ललितपुर तथा भक्तपुरमा रहेका विभिन्न विपन्न, गरिव, विभिन्न रोगीहरु, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, विद्यार्थी, वृद्ध, गर्भवती महिलालगायतका पीडितको पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोगसमेत गरेको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार कोरोना प्रभावितका लागि हालसम्म ११ लाख बराबरको राहत विरण गरिसकिएको छ ।