सुटिङमा जान घरमै मेकअप अनिवार्य

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण सबै सुटिङ रोकिएका छन् । अब केही समयसम्म पनि सुटिङ हुने नहुने केही टुंगो छैन । अहिले बलिउडका प्रोडक्सन हाउस र फिल्म कर्मचारीका संगठन सुटिङ शुरु भएपछि काम कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । सुटिङ चाहिँ धेरै प्रतिबन्धको फुकुवा पछि हुने उनीहरुको योजना छ ।

हालै मात्र सिने एण्ड टीवी आर्टिस्ट एसोसिएशन, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्पलोइजको एक बैठक गरेका थिए । जुन बैठकपछि प्रोड्यूसर्स गिल्डले केही नियम बनाएको छ । यदी फिल्मको छायांकन जुलाईबाट सुरु भयो भने केही शर्तमा मात्र सुटिङ हुनेछ । सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै कलाकार र प्राविधिकलाई कैयौं विषयमा सजगता अपनाउनुपर्ने नियम गिल्डले बनाएको छ ।

नियम अनुसार सुटिङ हुनु अघि सबैको स्वेब टेस्ट गर्नुपर्नेछ । हरेक विहान कामदारको कन्टेक्टलेस तापक्रम नाप्नुपर्नेछ । कलाकारहरुले घरबाटै मेकअप गरेर आउनुपर्नेछ । सुटिङ सेटमा डाक्टर र नर्सको उपस्थिति अनिवार्य हुनुपर्नेछ । सेटमा आउने कामदारलाई १२ घण्टाका लागि चार मास्क दिनुपर्नेछ । आगामी तीन महिनासम्म ६० वर्ष भन्दा माथिका कामदारलाई सेटमा बोलाउन पाइनेछैन ।