सामाजिक सन्जाल चलाउदा जेल र कोर्रा

तेहरान(एजेन्सी) । इरानको एक अदालतले सामाजिक सन्जालका प्रेरक अहमद मोइन शिराजी र उनकी पत्नी शबनम शाहरोखीलाई १६ वर्षको जेल र ७४ कोर्रा लगाउने सजाय सुनाएको छ । इरानको रिव्यूशनरी कोर्टले आरोपी जोडीको गैर उपस्थितिमा यो सजाय सुनाएको हो । अहमद र पत्नी शबनमले सन् २०१९ मा इरान छोडिसकेका छन् ।

शिराजीले अप्रिलमा एक पोस्टमा उनी र पत्नीमाथि ‘अश्लील’ र ‘अशिष्ट पोस्ट’ गरेर सरकारको विरुद्ध दुष्प्रचार गर्ने तथा नैतिक भ्रष्टाचार गरेको आरोप लागेको थियो । शिराजी र उनकी पत्नी हाल टर्कीमा छन् । शिराजीले त्यहाँको अदालतले कुनै पनि हालतमा आफूहरुलाई दोषी ठहराउने डर रहेको बताए ।

शिराजी किक बक्सिङको च्याम्पियन र उद्यमी हुन् । इन्स्टाग्राममा उनको लाखौं फलोअर्स छन् । अदालतले शिराजीलाई नौ वर्षको जेल र पत्नी शबनमलाई सात वर्षको जेल सजाय तथा ७४ कोर्रा लगाउने सजाय सुनाइसकेको छ । शबनमलाई तीन महिनासम्म विना पारिश्रमिक काम गर्नुपर्ने पनि सजाय सुनाइएको छ । इरानी जोडीले आफ्नो वकिलमार्फत अदालतको सजाय थाहा पाएको बताएका छन् ।

‘म आफ्नो वकिलमार्फत अदालतको फैसलाका विरुद्ध अपिल गर्दछु । यसअघि पनि अनुसन्धान मन्त्रालयले मलाई कैयौंपटक बोलाएर सोधपुछ गरिसकेको छ । सोधपुछ गर्नेले शिराजीलाई शबनमको बिना बुर्कावाला तस्बिर सामाजिक सन्जालमा पोस्ट नगर्न र सामाजिक सन्जालबाट टाढा रहन चेतावनी दिएको थियो’, उनले भनेका छन् ।