पीपीईको अधिक प्रयोगले संक्रमणको खतरा

बेइजिङ(एजेन्सी) । विश्वभर कोरोना भाइरसका बिरामीको उपचार गरिरहेका डाक्टर तथा मेडिकल स्टाफ संक्रमणबाट बच्नका लागि पीपीई किटको प्रयोग गरिरहेका छन् । तर यसको लगातार प्रयोगले डाक्टर तथा नर्सको छालामा संक्रमण हुने खतरा पनि उत्तिकै छ ।

चिनियाँ अनुसन्धानकर्ताले एडवान्सेस इन वूण्ड केयर नामक जर्नलमा प्रकाशन गरेको अध्ययन अनुसार कोरोनाका बिरामीको उपचार गर्ने ४५ दशमलब ८ प्रतिशत मेडिकल स्टाफले पीपीई किटको प्रयोगले अनुहारमा चोट भएको अनुभव गरेका छन् । अनलाइन सर्वेमार्फत फेब्रुअरी ८ देखि २२ को अवधिमा कोरोना संक्रमित बिरामीको उपचारमा संलगन मेडिकल स्टाफमा गरिएको अध्ययनले यो तथ्य फेला परेको हो ।

अध्ययनका अनुसार पर्सनल प्रोटेक्टिव इक्विपमेन्टको प्रयोगले तीन तरहको चोट देखिएको छ । जसमा पीपीईको चापले शरीरमा चोट लाग्नु, छाला नरम हुनुले चोट हुनु र छाला च्यातिने गरेको अध्ययनले देखाएको छ । शरीरमा धेरै पसिना आउनु, धेरै समय लगातार पीपीई किट लगाउनु र धेरै गह्रुंगो किटको प्रयोगले पनि शरीरमा चोट देखिएको अध्ययनले जनाएको छ ।

अध्ययनकर्ताले पीपीई किट प्रयोग गर्दा उत्पन्न हुने चोटबाट बच्नका लागि मास्क लगाउनु अघि छालालाई पूर्ण रुपले सफा राख्न सुझाव दिएका छन् । यसका साथै छालालाई हाइड्रेटेड राख्नु पनि उत्तिकै आवश्यक रहेको औल्याएका छन् । मास्क लगाउनु एक घण्टा अघि बेरियर क्रिम लगाएमा छालामा चोट लाग्ने समस्याबाट मुक्ति मिल्ने अध्ययनकर्ताले बताएका छन् ।