मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानले भारतभर लागु भएको लकडाउनका कारण सुटिङ रोकिएपछि घरमै बसेका हजारौं ज्यालादारी मजदुरको बैंक खातामा करोडौं रुपैयाँ पठाएर सहयोग गरेका थिए । हालैमात्र उनले आफ्नो नजिकका साथी तथा काँग्रेस पार्टीका नेता बाबा सिद्धिकीमार्फत गरिबलाई ट्रकमा रासन पु¥याए । आफ्नो पनवेलस्थित फार्महाउसमा पनि सलमानले प्रेमिका उलिया वन्तूर र अभिनेत्री ज्याकुलिना फर्नान्डिसका साथ आसपासका गाउँलेका लागि राशन बाँडेका थिए ।
यिनै सलमानले आफ्नो च्यारिटी संस्था ‘बीइंग ह्यूमन’मार्फत ‘बीइंग हैंग्ररी’ (‘हंगरी’ अर्थात भोक र ‘एंग्ररी’ अर्थात रिस मिलाएर बनेको शब्द) नामक नयाँ काम शुरु गरेका छन् । यो काममार्फत सलमानले दुई मिनी ट्रकको सहयोगले अत्यावश्यक व्यक्तिमाझ राशन पुर्याउने काम शुरु गरेका छन् । सलमानले आफ्नो फिल्म ‘राधे’ को सुटिङका समयमा युनिटका सदस्यका लागि खाना बनाउनका लागि प्रयोग हुने फूड ट्रकलाई राशन बाँड्ने ट्रकमा परिणत गरी यो काम शुरु गरेका हुन् । यो ट्रक अहिले मुम्बईको सडकमा घुमेर मानिसहरुलाई सहयोग गरिरहेको छ ।
सलमानका मेनेजर जोर्डी पटेलका अनुसार फिल्मको सुटिङका समयमा फूड ट्रक युनिटका सदस्यका लागि स्वस्थ खाना बनाउन प्रयोग गरिएको थियो । ‘यो ट्रक तीन चारदिन देखि राशन बाँड्ने काममा सक्रिय छ । हालसम्म मुम्बई खार, सान्ताक्रुज, बान्द्रा, मस्जिद बन्दर जस्ता क्षेत्रमा राशन बाँडिसकेको छ । राशनका हरेक प्याकेजमा दाल, चामल, आटा, नून जस्ता खानेकुरा छन् । हालसम्म ३ हजार बढी प्याकेज बाँडिएको छ’, उनले भनेका छन् ।