युट्युबमा नेहाको यस्तो रेकर्ड

मुम्बई(एजेन्सी) । बलिउड गायिका नेहा कक्कडले आफ्नो गायन करियरमा कैयौं हिट गीत दिएकी छन् । नेहा आफ्नो गीतका कारण फ्यानको हृदयमा राज गरिरहेकी छन् । नेहा गायनले मात्र नभई ड्रेसिङ सेन्सका कारण पनि सबैको ध्यान आफूतिर आकर्षण गर्न सफल भइरहेकी छन् । उनी सामाजिक सन्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

यिनै नेहाले विश्वभरका गायकगायिकालाई पछाडि पार्दै एउटा नयाँ रेकर्ड राखेकी छन् । यो रेकर्डले उनी अन्तर्राष्ट्रिय स्टार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक्सएक्ट्स चार्टस्ले हालै एक सूची जारी गरेको थियो । यो सूचीमा यस्तो महिलालाई राखिएको थियो, जसले सन् २०१९ मा युट्युबमा विश्वभरबाट सबैभन्दा बढी दर्शक पाएका थिए । यो सूचीमा नेहा दोस्रो नम्बरमा छिन् ।

एक्सएक्ट्स चार्टस्को सूचीमा पहिलो नम्बरमा कार्डी बी छिन् । उनले ४ दशमलब ८ बिलियन भ्यूज बनाएकी छन् । नेहाले ४ दशमलब ५ बिलियन भ्यूज बनाएकी छन् । नेहाले यो सूचीमा सेलेना गोमेज, बिली एलिस, माइली सायरस, ब्लेकपिंक, केरल जी, निकी मिनाज र ग्रेन्डजस्ता चर्चित अनुहारलाई पछि पारेकी छन् । यो कुराको जानकारी नेहाले इन्स्टाग्राममार्फत फ्यानलाई जानकारी दिएकी हुन् । उनको यो पोस्ट सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ ।