वीर्यमा कोरोना पोजेटिभ !

बेइजिङ(एजेन्सी) । के कोरोना भाइरस छुँदा र श्वासप्रश्वासका अलावा यौन सम्पर्कले पनि सर्न सक्छ ? यो धेरै समयदेखिको चर्चाको विषय हो । विशेषज्ञहरुलाई पनि यस्तो केही प्रमाण मिलेको छ, जसकारण कोरोना यौन सम्पर्कबाट पनि सर्नसक्छ भन्ने उनीहरुमा डर छ । यी विशेषज्ञहरुलाई निको भइसकेका पुरुषको वीर्यमा इन्फेक्सन भेटिएपछि यस्तो अनुमान लगाइएको छ । चीनका अनुसन्धानकर्ताहरुले ३८ पुरुषको वीर्यको विश्लेषण गर्दा ती वीर्यमा कोरोना पोजेटिभ पाइएको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार ती पुरुषमध्ये केही सुधारोन्मुख छन् भने केहीमा संक्रमण कायमै छ । छमध्ये एकको वीर्यमा कोरोना भाइरस भेटिएको छ । यसमा ती व्यक्ति पनि छन्, जो लामो समय बिरामी थिएनन् । चीनको साङकियु म्यूनिसिपल अस्पतालमा यो अध्ययन गरिएको हो । हेनान प्रान्तमा यो अस्पतालमा मात्र कोरोनाको उपचार भइरहेको छ । जनवरी र फेब्रुअरीका बीच १५ वर्ष माथि उमेरका पोजेटिभ लक्षण देखिएका पुरुषबाट यो नमूना संकलन गरिएको थियो । ३८ मध्ये १५ गम्भीर बिरामी थिए भने बाँकी बिसेक भइसेकका थिए ।

चीनको शीर्ष संक्रामक रोग विशेषज्ञहरुले वीर्यमा जीका र इबोला भाइरस मिल्दा आफूहरु छक्क परेको बताएका थिए । चिनियाँ अध्ययनले यौन सम्पर्क गर्दा संक्रमण हुन्छ या हुँदैन भन्ने निश्चित नगरे पनि पछिल्लो रिपोर्टले त्यसो हुनसक्ने अनुमान लगाइएको छ । रिपोर्ट सार्वजनिक हुनासाथ आम मानिसको मनमा यौन सम्पर्कको विषयलाई लिएर त्रास उत्पन्न भएको छ । उनीहरुले यौन सम्पर्कबाट टाढै रहँदा कोरोना संक्रमणबाट बच्न सकिने जनाएका छन् । विश्वमा हालसम्म ३७ लाख मानिस कोरोना भाइसबाट संक्रमित भइसकेका छन् ।