डिसहोममा कोपिला, आम्दानी परिवारलाई

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको फिल्म ‘कोपिला’ डिसहोम च्यानलमार्फत प्रर्दशनमा आउने भएको छ । दर्शकहरुले फिल्मलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने छन् । यही वैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो फिल्मलाई दर्शकले घरमै बसेर आफ्नो समय अनुसार फिल्म हलमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने भएका हुन् ।

फिल्मका निर्देशक शिवम अधिकारीले कोरोना भाइरसको कारण फिल्म हल सञ्चालनमा आउन ढिलाई हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत फिल्म प्रर्दशन गराउन लागिएको बताए । फिल्मले यसअघि ट्रेलर सार्वजनिक गरे सँगै हेटौडामा विशेष शोमार्फत आएको रकमबाट स्व. पन्तको परिवारलाई ५० हजार सहयोग समेत गरिसकेको फिल्मका निर्माता मणिराज गौतमले बताए । साथै फिल्म प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व. पन्तको परिवारलाई प्रदान उनले खुलाए ।

फिल्ममा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ । निर्देशक अधिकारीले बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई फिल्मले बोल्ने बताए । गणेश गिरिको प्रस्तुति रहेको फिल्ममा सञ्चारकर्मी मणिराज गौतमको लगानी छ । उनलाई समिर मिया र रामेश्वर कार्कीले सघाएका छन् । कार्यकारी निर्मातामा सुबास काफ्ले छन् ।

फिल्ममा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसँगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।