साउदीमा मेगासिटी निओम निर्माण ढिलाई

रियाद(एजेन्सी) । साउदी अरबको ४ सय बिलियन पाउण्डको मेगासिटी निओम बनाउने सपना वर्तमान अवस्थामा निकै पर सर्दै गएको छ । तेलको मूल्यमा बढ्दो गिरावट र कोरोना भाइरसको नकारात्मक असरले मेगासिटी बनाउने साउदी सरकारको सपनामा ढिलाई हुँदै गएको हो । वृहत हाइटेक हबका रुपमा यो सिटीलाई सन् २०२५ मा पुरा गर्ने सरकारको योजना थियो ।

साउदी सरकारले करिब १० लाख मानिसलाई यो स्थानमा बसाउने योजना बनाएको थियो । मोरक्को शैलीको भवन र महलमा हेलिप्याड, मरीना र गल्फ कोर्ससँगै कृति जून बनाउने सरकारको योजना थियो । निओमलाई ग्रीकमा नयाँ र अरबीमा भविष्य भन्ने बुझिन्छ । हालसम्म यहाँ केही महल र हेलिप्याड बनाइएको छ ।

निओमका एक कन्ट्रयाक्टरले त्यहाँ कार्यरत काम गर्ने घण्टालाई आधा गरिएको बताए । वासिङ्टनका एक विश्लेषक अली शिहाबीले सबै प्रोजेक्ट ढिलो हुने बताए । ‘यो रोकिएको त छैन, तर ढिलो भइरहेको छ । पछिल्लो हप्ता साउदी सरकारले तीन गुना मूल्य अभिवृद्धि कर लगाएको थियो । जसको असर पनि यसको निर्माणमा पर्ने देखिएको छ’, उनले भनेका छन् ।

साउदीमा तेलको मूल्य घटेपछि त्यसको असर अर्थव्यवस्थामा परेको छ । जानकारहरुका अनुसार यो साउदीको अगाडि आएको सबैभन्दा ठूलो आर्थिक संकट हो । यदी अवस्था यस्तै रहेमा मानिसमा आक्रोश पैदा हुनसक्ने बताइएको छ । खासगरी निओम र दोस्रो मल्टी बिलियन डलर प्रोजेक्टलाई त्यसको कारण मानिएको छ । यो सिटी साउदी राजकुमार मोहमम्मद बिन सलमानको महत्वकांक्षी प्रोजेक्ट थियो ।