कतारमा मास्क नलगाउनेलाई जेल सजाय

दोहा(एजेन्सी) । कोरोना भाइरसको फैलावटलाई रोक्नका लागि विश्वभर कैयौं कदम उठाइएको छ । तर कतारमा आइतबारबाट सबैभन्दा कठोर सजायको घोषणा गरिएको छ । यहाँ सार्वजनिक स्थानमा मास्क नलगाइ हिँडेमा तीन वर्षसम्मको जेल सजाय दिइने घोषणा गरिएको छ । कतारमा ३० हजार भन्दा बढी मानिसमा कोरोना पोजेटिभ पाइएको छ । २७ दशमलब ५ लाख आवादी भएको यो देशमा कोरोना संक्रमितको संख्यालाई धेरै मानिएको छ । यहाँ हालसम्म १५ जनाले ज्यान गुमाएका छन् ।

यहाँ कोरोनासँग सम्बन्धित रहेर बनाइएको नियम नमान्नेलाई जेल सजायसँगै ५५ डलरको जरिवानाको पनि व्यवस्था गरिएको छ । यदी कोही गाडीमा एक्लै यात्रा गरिरहेको छ भने उसमा यो नियम लागु हुँदैन । कतार प्रशासनले रमजानको बेला भेला हुन पनि प्रतिबन्ध लगाएको छ । भेला हुँदा संक्रमण फैलन सक्ने डरले भेला हुन रोक लगाइएको हो ।

कतारमा स्कूल, मल र रेष्टुराँ बन्द छन् । तर २०२२ को विश्वकपका लागि निर्माणस्थलमा काम भइरहेको छ । यहाँ सामाजिक दुरीको नियम पालन गरेर काम भइरहेको छ । अधिकारीहरुका अनुसार तीन स्टेडियममा कार्यरत मजदुरमा कोरोना पोजेटिभ पाइएको छ । त्यसकारण यी स्थलमा पनि मास्क अनिवार्य गरिएको छ ।