लकडाउनमा अक्षयलाई अर्बौ घाटा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमार व्यस्त कलाकार हो भन्ने कुरामा दुई मत छैन । प्रत्येक वर्ष उनी अभिनित तीनदेखि पाँचवटासम्म फिल्म रिलिज हुन्छन् । सन् २०१९ मा ‘केशरी’, ‘मिसन मंगल’, ‘हाउसफूल ४’ र ‘गुड न्यूज’ जस्ता फिल्म रिलिज भए ।

तर अक्षयका लागि सन् २०२० भने सुखद नहुने सम्भावना धेरै देखिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले विश्वका अधिकांश देशमा लकडाउन नियम लागु गरिएको छ । लकडाउनका कारण विभिन्न क्षेत्रजस्तै फिल्म उद्योग पनि ठप्प छ । भारतमा पनि लकडाउनका कारण धेरै फिल्मको छायांकन, रिलिजलगायतका काम रोकिएका छन् ।

यही कुरालाई मध्यनजर गर्दै यो वर्ष फिल्ममा सर्वाधिक प्रभावित हुने अभिनेता अक्षय कुमार हुने अनुमान गरिएको छ । उनी अभिनित प्रतिक्षित फिल्महरु ‘सूर्यवंशी’, ‘लक्ष्मी बम्ब’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘बेल बटम’ र एकता कपुरको कमेडी फिल्म यसै वर्ष रिलिज हुँदैछन् ।

यी फिल्महरु कोही रिलिजको तयारीमा छन् त को निर्माणको चरणमा छन् । लकडाउन खुलेपछिको सामान्य अवस्थामा अक्षयले यी फिल्मको कामको लागि तालिका बनाउनेछन् । यी फिल्मको एक लगानी अर्बौ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।