नेपालीको अपमान गरेकोमा अनुष्काविरुद्ध लिगल नोटिस

काठमाडौं । हालै मात्र ओटीटी प्लेटफर्म अर्थात् इन्टरनेटबाट सार्वजनिक भएको वेब सिरिज ‘पाताल लोक’ले लोकप्रियतासँगै विवाद पनि उत्तिकै कमायो । बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको यो सिरिजमा प्रयोग भएको एक संवादले सिरिजसँगै अनुष्कालाई पनि विवादमा तानेको छ ।

गिल्डका सदस्य तथा प्रणय राय एण्ड एसोसिएट्सको चेम्बर्ससँग आबद्ध वकिल वीरेन श्री गुरुङ अनुष्कालाई लिगल नोटिस पठाएका छन् । गुरुङका अनुसार सिरिजको दोस्रो भागमा एक शब्द प्रयोग गरिएको छ, जुन शब्दले पुरा नेपाली समुदायको अपमान गरेको छ । ‘एक भिडियो क्लिपमा सोधपुछका क्रममा महिला प्रहरी अधिकृत नेपाली पात्रमाथि जातिवादी गाली गर्छिन् । यसमा नेपाली शब्द प्रयोग गरिएको थियो भने त्यसमा कुनै समस्या थिएन । तर त्यसपछिको जुन शब्द छ, त्यसलाई स्वीकार्न सकिन्नँ । त्यहीकारण अनुष्का शर्मा, जो निर्मात्री हुन्, उनलाई सूचना पठाएका छौं । हालसम्म अभिनेत्रीको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन’, गुरुङले भनेका छन् ।

गोरखा कम्युनिटीले पनि सिरिजको यो संवादमा आपत्ति जनाएको छ । उनीहरुले संवादमा प्रयोग भएका शब्द हटाउन माग गरेका छन् । गत मे १८ मा कम्युनिटीले अनलाइनमार्फत एक याचिका दर्ता गराएको छ ।

केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकर, ओटीटी प्लेटफर्म र सिरिजकी निर्मात्री अनुष्का शर्मालाई सम्बोधन गर्दै याचिकामा सिरिजमा प्रयोग गरिएको संवादले गोर्खाली महिलालाई गलत तरिकाले चित्रण गरिएको उल्लेख गरिएको छ । उनीहरुले उक्त शब्दलाई म्यूट गर्न आग्रह गरेका छन् । ‘सबटाइटल ब्लर गर्नुपर्छ र सम्पादन गरिएको भिडियो सबैलाई उपलब्ध हुनुपर्छ । यसका साथै बिना शर्त माफी माग्नुपर्छ’, याचिकामा लेखिएको छ ।