लकडाउनमा दग्गूबटी–मिहीका इन्गेज्ड

मुम्बई(एजेन्सी) । मिहीका बजाजका लागि आफ्नो प्रेम दर्शाएको १० दिन पछि राणा दग्गूबटीले मे २१ अर्थात बिहीबार इन्गेजमेन्ट गरेका छन् । राणा र मिहीकाले सामाजिक सन्जालमा तस्बिर पोस्ट गर्दै आफूहरु प्रेममा रहेको जानकारी दिएका थिए । लकडाउनका कारण इन्गेजमेन्टको कार्यक्रम भव्य किसिमले गरिएन ।

राणाले इन्गेजमेन्टको तस्बिर सामाजिक सन्जालमा शेयर गर्दै ‘एण्ड इट अस अफिसियल’ लेखेका छन् । तस्बिरमा दुई परम्परागत पहिरनमा छन् । राणाले सेतो सर्ट र लुंगी लगाएका छन् भने मिहीकाले सिल्क रंगको साडी लगाएकी छन् । उनीहरुको अनुहारमा खुशीपन प्रष्ट देखिन्छ । त्यस्तै मिहीकाले पनि अर्को तस्बिर पोस्ट गर्दै ‘सदाका लागि एकअर्काको हुने शुरुवात’ लेखेकी छन् । उनीहरुको इन्गेजमेन्टको खबर सार्वजनिक हुनासाथ बधाईको ओइरो लागेको छ । बलिउड र दक्षिण भारतीय फिल्मका कलाकार तथा फिल्ममेकरले बधाई दिइरहेका छन् ।

राणाका पिता डी सुरेश बाबूले आगामी डिसेम्बरमा विवाह गर्ने बताएका छन् । ‘विपदको यो समयमा खुशी बाड्ने मौका मिलेको छ । पूरा परिवार खुशी छौं । दुबै बच्चाहरु निकै समयदेखि एकअर्कालाई जान्दथे । हामी उनीहरुका लागि खुशी छौं । विवाह यसै वर्ष हुनेछ ।’ उनले भनेका छन् ।

मिहीका एक उद्यमी हुन् । उनी हैदराबादमा व्यापार गर्छिन् । उनको इभेन्ट मेनेजमेन्ट र डेकोर कम्पनी छ । जसको नाम डियू ड्रप डिजाइन स्टुडियो हो । उनले इन्टेरियर डिजाइनमा मुम्बईमा डिप्लोमा गरेकी हुन् भने लण्डनको चेल्सा युनिभर्सिटीबाट आर्ट एण्ड डिजाइनमा एमए गरेकी हुन् ।