वृद्धाश्रममा सहाराविहिन महाभारतका देवराज इन्द्र

मुम्बई(एजेन्सी) । ग्ल्यामर उद्योगका स्टारहरुको जीवन जहिल्यै पनि एकै किसिमको हुँदैन । यो केवल देखावटी मात्र हुन्छ । देखावटी यस अर्थमा कि एक अभिनेता जो सुपरस्टार थिए, मानिसलाई आफ्नो तर्फ आकर्षित गरिरहेको थियो । तर सधैं यस्तो रहँदैन । कुनै समयमा करोडौं कमाउने एक अभिनेता गुमनाम जिन्दगी पनि बिताउन बाध्य भइरहेको हुन्छ ।  भारतीय चर्चित धार्मिक टेलिफिल्म ‘महाभारत’मा देवराज इन्द्रको भूमिकामा अभिनय गर्ने अभिनेता सतीश कौलको अवस्था अहिले यस्तै छ । कुनै समयमा सतीशलाई पन्जाबी फिल्मको अमिताभ बच्चन मानिन्थ्यो । यिनै सतीश वर्तमान समयमा वृद्धाश्रममा बस्न बाध्य छन् ।

उनको आर्थिक स्थिति यति दयनीय छ कि उनीसँग अस्पताललाई तिर्नुपर्ने बिलवापतको पैसा पनि छैन । पन्जाबी र हिन्दी फिल्म गरी झन्डै तीन सय फिल्ममा उनले काम गरिसकेका छन् । उनले बलिउडका देवानन्द, दिलीप कुमार, शाहरुख खानसँग पनि काम गरिसकेका छन् ।  सतीशलाई पन्जाबी फिल्ममा पुर्याएको योगदानको कदर गर्दै लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान पनि गरिएको छ । तर अहिले उनी लुधियानामा रहेको विवेकानन्द वृद्धाश्रममा बस्दै आएका छन् । उनीसँग पैसाको पनि अभाव छ ।

उनले लुधियानामा एक अभिनय स्कुल खोले । जहाँ उनको सारा लगानी डुब्यो । उनकी श्रीमतिले उनलाई डिभार्स दिइन् र छोरो लिएर अमेरिका गइन् । कुनै समयमा करोड कमाउने सतीश अहिले आर्थिक संकटमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई हेर्ने पनि कोही छैनन् । उनले आन्टी नम्बर १, याराना, जंजीर, खेल, राम लखन, कर्मा, खूनी महल, इल्जामलगायतका फिल्ममा काम गरिसकेका छन् ।