बेहुली लिन जाँदा बेहुला क्वारेन्टाइनमा

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानको एक विवाह अलग कारण चर्चाको विषय बनेको छ । यहाँ बेहुली लिन गएका बेहुलालाई प्रहरीले गिरफ्तार गरेर क्वारेन्टाइनमा पठाएको छ । प्रहरीले विवाह समारोह स्थानमा रेड मार्दै १२ जनालाई गिरफ्तार गरेको छ ।

पाकिस्तानको फैसलाबादमा लकडाउनमा विवाह गर्नु नै बेहुलाका लागि महंगो साबित भयो । लकडाउनको उल्लंघन गरेको आरोपमा प्रहरीले बेहुलासहित जन्तीलाई गिरफ्तार गरेको थियो । कोरोना भाइरसको कारण जारी गरिएको लकडाउन तोड्दै विवाहमा ५ सय बढी जन्ती गएको प्रहरीको दाबी छ । यो सूचना पाउनासाथ प्रहरीले त्यहाँ रेड हान्दै १२ जनालाई पक्राउ गरेर क्वारेन्टाइनमा पठाएको छ । पाकिस्तानमा कोरोना महामारीलाई मध्यनजर गर्दै विवाहको कार्यक्रममा पनि रोक लगाइएको छ ।

प्रहरी विवाहस्थलमा पुग्दा ढोका र लाइट बन्द गरिएको थियो । प्रहरीले जाँच गर्दा विवाहस्थल पछाडिबाट पाहुनालाई भित्र आउन दिइएको थियो । विवाहस्थलमा प्रहरीले छापा मार्नासाथ भागाभाग चलेको थियो । यद्यपि प्रहरीले बेहुलाबेहुली पक्षका कैयौं व्यक्तिलाई पक्रेर मुद्धा दर्ता गराएको छ । गिरफ्तार गरिएको समूहमा बेहुलाका पिता पनि छन् । सबैजनाको रगतको नमूना लिइएपछि क्वारेन्टाइनमा पठाइएको थियो । विवाहस्थलका सञ्चालक र मेनेजर फरार छन् ।