बहिनीलाई बचाउन प्लेन नै बुक

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको रोकथामका लागि स्थापित पीएम केयर्स फण्डमा बलिउड अभिनेता अक्षय कुमारले २५ करोड भन्दा बढी रकम दान दिइसकेका छन् । उनले फिल्म र टेलिभिजन कलाकारको संस्था सिने एण्ड टेलिभिजन आर्टिस्ट एसोसिएसन(सिन्टा)लाई पनि ४५ लाख रुपैंयाँ आर्थिक सहयोग गरिसकेका छन् ।

यी अभिनेताले कोरोना संक्रमणबाट आफ्नी बहिनीलाई बचाउनका लागि यस्तो काम गरेका छन्, जुन सुन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ । उनले बहिनी अलका भाटिया र उनका सन्तानलाई मुम्बईबाट दिल्ली पठाउनका लागि एउटा प्लेन नै बुक गरेका छन् ।

भारतमा लकडाउनको चौथो चरणमा उडान पनि शुरु भएको छ । यस्तो अवस्थामा अक्षयले अल्का र उनको सन्तानलाई सुरक्षित बनाउन यो निर्णय लिएका हुन् । मुम्बईबाट दिल्ली उडेको यो प्लेनमा अक्षयकी बहिनी र उनका सन्तान मात्र थिए । हालै मात्र एक व्यापारीले पनि भोपालबाट दिल्लीका लागि एक प्लेनको सम्पूर्ण सिट छोरी र उनको सन्तानका लागि बुक गराएका थिए ।

भारतमा कोरोना भाइरसबाट पीडित बनेका बिरामीको संख्या दिनानुदिन बढ्दो छ । जसकारण यहाँ मे ३१ सम्म लकडाउन बढाइएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ७ सय ९९ पुगेको छ भने ४ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ । कोरोनालाई जित्नेको संख्या ७१ हजार १ सय ५ छ ।