बर्गर खान दुई सय ५० माइल यात्रा

लण्डन(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण लागु गरिएको लकडाउनका कारण धेरै मानिसहरु घरमै बस्न बाध्य छन् । तर ब्रिटेनका दुई युवा फास्ट फूडको यस्तो क्रेजी निस्किए कि बर्गर र पिज्जा खानकै लागि उनीहरुले दुई सय ५० माइलको यात्रा गरे ।

रयान होल र पेसली हेमिल्टन नामका यी दुई युवा हाउस सिटीमा बस्छन् । जहाँ लकडाउनका कारण म्याक डोनाल्डको सबै आउटलेट बन्द छन् । त्यसैले फास्ट फूडको तृष्णा मेट्नका लागि उनीहरुले पीटर्सबर्ग सहरसम्म अढाई सय माइलको यात्रा गरेका हुन् ।

उनीहरुले यो यात्रामा खानेकुरामा भन्दा पनि बढी पैसा पेट्रोलमा खर्च गरे । तर पनि उनीहरुलाई आफ्नो खर्चमा कुनै पछुतो छैन् । दुवैले हाउलदेखि पीटर्सबर्गको यात्राका समयमा २७ यूरो खर्च गरेका थिए । उनीहरुले पीटर्सबर्ग पुगेर आउटलेटमा आफ्नो पालो पर्खन लामो समय बसे ।

अन्त्यमा दुवैले मेकनट मील, लार्ज बिग मेक, दुई कोक, दुई डबल चीज बर्गर र एक माछा अर्डर गरे । जसका लागि उनीहरुले २० यूरो खर्च गरे । अर्डर हातमा आएपछि उनीहरुले पार्किङमै खानेकुराको आनन्द लिए । रयानले १५ मिनेटको फास्ट फूडका लागि ७ घण्टा भन्दा बढी यात्रा गर्नुपर्ला भनेर कहिल्यै नसोचेको बताए ।