दर्शकलाई सलमानको हाउस अफ भाइजान शो

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण भएको लकडाउनले बलिउड र अन्य मानिसको काममा ब्रेक लागेको छ । तर अभिनेता सलमान खान भने लकडाउनमा आफूलाई व्यस्त बनाइरहेका छन् । लकडाउन शुरु भएपछि सलमान आफ्ना परिवार तथा नजिकका साथीहरुसँग पनवेलस्थित फार्महाउसमा छन् ।

तर क्वारेन्टाइनमा भएर पनि सलमान सक्रिय देखिएका छन् । उनी क्वारेन्टाइनमा एक पछि अर्को राम्रा गीतहरु दर्शकमाझ ल्याइरहेका छन् । यही परिप्रेक्ष्यमा सलमानका फ्यानका लागि एउटा खुशीको खबर छ । उनी आफ्नो जिन्दगीमा आधारित एक शो लिएर दर्शकमाझ आउँदैछन् ।

सलमानले शोको नाम ‘हाउस अफ भाइजान’ राखेका छन् । जसमा उनले आफ्नो क्वारेन्टाइन जीवन देखाउनेछन् । यो शो कलर्स टेलिभिजनमा प्रसारण हुनेछ । यो शोको सञ्चालन फिल्म ‘फ्यान’की अभिनेत्री वलिश्चा डिसूजाले चलाउनेछिन् । शोमा सलमानसँगै ज्याकुलिन फर्नान्डिज, यूलिया वन्तुर र आयुष शर्मा पनि हुनेछन् । उनीहरुबाहेक फार्म हाउसमा रहेका कर्मचारी पनि यो शोको हिस्सा हुनेछन् ।

शोलाई सलमानको प्रोडक्सन हाउसले निर्माण गर्नेछ । यो शोका माध्यमबाट दर्शकले सलमानको दैनिक कामको तालिकाका अलावा गीतको छायांकनको दृश्य पनि हेर्न पाउनेछन् । शोका लागि धेरै भागको छायांकन भइसकेको छ । यो शो १० देखि १२ भागको हुनेछ ।