धर्ती चिनाउँदै सुमन बैरागी

काठमाडौं । लिपुलेकमा भारतीयतर्फबाट सडक निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद चर्किंदै गएको छ । केही समय पहिला भारतले आफ्नो नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी भारततर्फ भएको सार्वजनिक गरेका थिए । त्यसको विरोध हुँदाहुँदै सडक नै निर्माण गरेपछि नेपालतर्फबाट पनि सोही भूभाग नेपालकै हो भनेर नक्सा सार्वजनिक गरेको छ । तर पनि भारतीयहरुले अतिक्रमण गर्न छाडेका छैन । सीमाको विषयले सबैलाई चिन्तित बनाएको छ । यसमा कलाकार पनि अछुतो छैनन् ।

यसै विषयलाई लिएर गीतकार सुमन बैरागीले ‘हाम्रो धर्ती’ बोलको नयाँ गीत ल्याएका छन् । गायक लबकुमार भट्टको स्वर रहेको गीतमा विश्वास नेपालको संगीत छ । गायक भट्टका दर्जनौं गीतहरु बजारमा आइसकेका छन् । लामो समयदेखि गीतसंगीतमा नै सक्रिय रहेका गायक लब संचारकर्मीसमेत हुन् ।

गीतमा गायक भट्टसँगै गायिका सुनिला गुरुङ, गायक ज्योतिप्रकाश, गायक विश्वास नेपालको स्वर रहेको छ भने गीतमा विश्वास नेपालकै संगीत संयोजन रहेको छ । गीतको रेकर्डिङ एवं मिक्सिङ महेश विक्रम पाण्डेले गरेका छन् ।

गीतमा सुस्ता, कालापानी, लिपुलेकका भूभाग नेपालकै हो सोही भूमि नेपालले फिर्ता ल्याउनका लागि नेपालीहरु एकजुट हुनुपर्छ भन्ने भाव समेटिएको गीतकार सुमनले बताए । यस गीतको म्यूजिक भिडियोमा गायक लबकुमार भट्ट, गायिका सुनिला गुरुट्ट, गायक दीपसागर थापा, गायक मौसम गुरुङ, गायक ज्योतिप्रकाश, गायक विश्वास नेपाल, पत्रकार एवं गीतकार सुमन पण्डित, गायिका विनिता गुरुङ, गायिका पूजा गुरुङ लगायतको अभिनय रहेको छ । भिडियोको छायाँकन एवं निर्देशन सुमन पण्डितको रहेको छ भने भिडियोलाई महेश विक्रम पाण्डेले सम्पादन गरेका छन् ।