दीपकको चेतनामूलक कोरोना गीत

काठमाडौं । गायक दीपक बज्राचार्यले भने कोरोना संक्रमणबाट बच्न सचेतनामूलक गीत लिएर आएका छन् । युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक बज्राचार्यले सचेतना फैलाउने कोरोना गीतलाई युट्युबमार्फत सार्वजनिक गरेका हुन् । गीतमा रिकी शाक्यको शब्द र दीपककै संगीत छ । गीतमा उनलाई छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन । जसमा सबटाइटल पनि राखिएको छ ।

भिडियोमा नेवारी धिमे बाजा, नेवारी सांस्कृतिक नृत्य लाखे समेत देखाइएको छ । भिडियोमा लिड गिटारमा रोजन शाक्य, झाँक्री डान्सरमा लिजेन्द्र महर्जन, लाखे डान्सरमा राजीव बज्राचार्य, धिमेमा नरेश प्रजापति, बासुरीमा सुमन महर्जन, कीबोर्डमा सचेन बज्राचार्य र हाइ पर्सुसनमा मनिक महर्जनले साथ दिएका छन् ।

कोरोना भाइरसका कारण चैतको पहिलो साता अस्ट्रेलिया र न्युजिल्यान्डमा सांगीतिक कार्यक्रम बीचमै छाडेर नेपाल फर्किएका दीपक र उनको ब्याण्ड रिदमले यता आएर १४ दिन क्वारेन्टाइनमा बसेका थिए ।