रहेनन् अभिनेता जयनन्द

काठमाडौं । झन्डै सय बढी फिल्ममा अभिनय गरेका कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि पक्षघातबाट पीडित चन्दको निधन ललितपुरस्थित एकान्तकुनामा भएको हो । उनी मधुमेह र रक्तचापका बिरामी पनि थिए । जयनन्द एक छोरी र श्रीमतिसँग बस्दै आएका थिए ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय यात्रा शुरु गरेका उनले ‘विश्वास’, ‘भाग्यरेखा’, ‘फेरि भेटौंला’, ‘मायालु’लगायतका फिल्ममा अभिनय गरेका थिए । उनले पछिल्लोपटक अभिनय गरेको फिलम ‘भागी भागी नहिँड’ थियो । यो फिल्मको छायांकनका क्रममा लडेपछि उनलाई प्यारालाइसिस भएको थियो । उनले ‘पञ्चओटी’ नामक भारतीय फिल्म र एक पाकिस्तानी फिल्ममा पनि अभिनय गरेका थिए ।

अभिनयमा रुची राख्ने जयनन्द कुनै समय भारतीय सेनाका जागिरे पनि थिए । उनी जाउलाखेल युवा क्लबबाट क्रिकेट पनि खेल्दथे । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।